काठमाडौँ, २६ माघ : एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तालाई आफ्नो स्वार्थमा केन्द्रित गर्न प्रधानमन्त्री केपी शर्मा ओली लागिरहेको बताएका छन् । जनताका समस्या समाधान गर्नुपर्नेमा सरकारको नेतृत्व व्यक्तिगत स्वार्थमा लागेको नेपालको भनाइ छ ।
एकीकृत समाजवादीको प्रथम उपत्यका प्रदेश अधिवेशनलाई शनिबार सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री ओलीका कारण मुलुकमा अन्योलको स्थिति पैदा भएको पनि बताए । ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यो मुलुक सञ्चालन गर्ने कुरामा गम्भीर हुनुहुन्न । उहाँ वास्तवमा देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नका लागि होइन, सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नेकुरामा केन्द्रित भएर लाग्नुभएको छ,’ नेपालले भने, ‘यसले हाम्रो देशको भविष्यलाई बढो संकटग्रस्त बनाएर जाने सम्भावना छ ।‘
ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिस्ट पार्टीहरू मिलेर बनाएको सरकार ढालेर कांग्रेससँग मिलेर सरकार गठन गरेको नेपालको भनाइ थियो । प्रधानमन्त्री पद चाहिएको भए आफू र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग बार्गेनिङ गरेको अवस्थामा पाउने स्थिति रहेको थियो भन्ने नेपालको भनाइ छ ।
ओली दुनियाँ ठग्नका लागि प्रधानमन्त्री बनेको आरोप पनि नेपालले लगाए । ‘प्रधानमन्त्री बनेर दुनियाँ ठग्नको लागि संविधान संशोधन गर्नुछ भनेर गफै हाँक्ने हो भने त्यो गफको के काम ? अब संविधान संशोधनको विषय पनि ०८७ को विषय बन्यो,’ उनले भने, ‘अब ०८४ देखि चुनाव हुने कुरा सुनेका छौँ । ०८४ मा चुनाव हुने अनि ०८७ मा संविधान संशोधन गर्ने भनेपछि यो बीचको अवधिमा को हुने हो प्रधानमन्त्री ? यसको केही छ जवाफ ? मुखबाट त्यो निस्किएको हो कि नबोल्नुपर्ने कुरा ।‘
सत्तारुढ गठबन्धनले मुलुकमा दुईवटा पार्टीको मात्रै उपस्थिति हुनुपर्छ भन्ने भाष्य चलाइरहेकामा पनि नेपालको आपत्ति छ । उनले भने, ‘उहाँहरूले अहिले नयाँ भाष्य ल्याएको छ- नेपालमा दुईवटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्छ । भन्नुको मतलव दुई दलीय व्यवस्था नेपालमा स्थापित गर्नुपर्छ, बहुदलीय व्यवस्था होइन । त्यसो भए उहाँहरूको एजेन्डा संविधान संशोधन गरेर बहुदलीय होइन, दुई दलीय शासन प्रणाली स्थापित गर्ने कुरा राख्नुभएको छ कि । हामी त्यो पर्खिएर बसिरहेका छौँ । उहाँहरू त्यो घोषणा गर्न गइरहनुभएको छ भने आउनुस् हामी सामना गर्छौं ।‘
सत्ता गठबन्धमा सत्ताको मात लागेको पनि नेपालले बताए । ‘संख्याको मात लागेको छ भने हाम्रो छिमेकी देशहरूको घटना हेर्नुस्, सम्झनुस् । संख्याले मात्रै केही गर्दैन, संख्याको मात लाग्यो भने त्यसको दुरुपयोग गर्नुभयो भने त्यसको प्रतिकार गर्न जनता उभिन्छन्,’ उनले भने ।
अध्यक्ष नेपालले एमालेसँग पार्टी एकता गर्ने कुनै सम्भावना नरहेको पनि बताउका छन् । माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको उनको भनाइ थियो । राष्ट्रिय सभा सदस्य वामदेव गौतम र भीम रावललाई पार्टीमा स्वागत गर्न आफू तयार रहेको पनि नेपालको भनाइ थियो ।