आइतबार, माघ २०, २०८१

प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन् : सभामुख घिमिरे


मोरङ, १९ माघः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्ने बताउनुभएको छ । विराटनगरमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश सरकारले माग गरेका कानुनहरू छिटै निर्माण गर्ने गरी तयारी भइरहेको बताउनुभयो । त्यसका लागि आफूले सरकारसँग् नियमित समन्वय गरिरहेको सभामुख घिमिरेको भनाइ थियो ।

उहाँले संसद् सञ्चालनमा नरहेको बेला सरकारले अध्यादेश ल्याउने प्रचलन रहेको भन्दै हालै सरकारले ल्याएका अध्यादेश संसद्मा पेस भएकाले सोहीअनुसार छलफल गरेर निष्कर्षमा पुगिने बताउनुभयो । “अध्यादेश संसद् नभएको समयमा ल्याइन्छ । यसपटक पनि संसद् सञ्चालनमा नरहेका बेला ल्याइएका अध्यादेश संसद्मा पेस भइसकेका छन्”, उहाँले भन्नुभयो, “अब संसद् सञ्चालन भएपछि कि फिर्ता र कि छलफल हुन्छ ।

सभामुख घिमिरेले विधेयकहरु लामो समयसम्म पारित नहुँदा आलोचना हुने गरेकाले अवधि तोकेर पारित गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले संसदीय समितिमा १४ वटा विधेयक अहिले छलफलमा रहेको बताउनुभयो ।

आजै प्रगतिशील लेखक सङ्घ नेपाल र भुँडीपुराण प्रकाशन काठमाडौँद्वारा यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकमा निरङ्कुशतालाई अन्त्य गरी लोकतन्त्रको स्थापना गर्न यस क्षेत्रका जनता, दलका नेता एवं कार्यकर्ताको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो ।

स्रष्टा जीवन घिमिरेद्वारा लिखित ‘कमरेड हिजो र आज’ पुस्तक कृतिको लोकार्पण गर्दै उहाँले सङ्घीय लोकतन्त्रको स्थापनामा प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहित अन्य राजनीतिक शक्तिको योगदान उल्लेखनीय रहेको विचार व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले समाजमा रहेका कुरीति र जातीय विभेद अन्त्य गरी समाज परिवर्तन गर्ने भूमिकामा प्रगतिशील लेखक सङ्घ लाग्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैको भूमिका जरूरी रहेको बताउनुभयो । पुस्तकका लेखक एवं एमाले मोरङ इन्चार्ज घिमिरेले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा झापा, मोरङ र सुनसरीमा आफूसँग सम्बन्ध जोडिएका चार सय पात्रहरूको विवरण पुस्तकमा समावेश गरिएको बताउनुभयो ।

कार्यक्रममा चन्द्र भण्डारी, निर्मला कोइराला, प्राडा रमेशप्रसाद भट्टराई र विमला दाहाल घिमिरेले पुस्तकको समीक्षा गर्नुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading