शुक्रबार, माघ १८, २०८१

आफू र आफ्नालाई जोगाउन मात्रै राजनीति नगरौँ : चित्रबहादुर केसी


काठमाडौँ, १८ माघ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो र आफ्नालाई जोगाउनका लागि मात्रै राजनीति नगर्न सुझाव दिनुभएको छ । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले कुनै पनि कानुनी आपराधिक गतिविधिबाट आफू र आफ्ना मान्छेलाई जोगाउन राजनीति गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो, “हामी नसच्चिने हो भने गणतन्त्र र लोकतन्त्रको अस्तित्व सङ्कटमा पर्नेछ । देशको अस्तित्व बचाउनका लागि हामी राजनीतिक व्यक्तिले देश र जनताको लागि राजनीति गरौँ । आफ्नो र आफ्नालाई जोगाउन मात्रै राजनीतिक नगरौँ ।

केसीले राजनीतिक दलका नेताद्वारा घोषित एजेण्डाको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा जनताले विश्वास गर्न छाडेको बताउनुभएको छ । जनताले सोचेअनुरुपको समृद्धि हुन नसकेको बताउँदै उहाँले राजनीतिक व्यवस्था सदृढ गर्न जनताको विश्वास दिलाउने गरी काम गर्न सुझाव दिनुभयो ।

अनि अहिले अध्यादेश ल्याउनुको कारण भूमिहीन जनतालाई जग्गा दिन हो ? खेतीयोग्य जग्गामा घर बनेका छन् । करोडाँै खर्च गरेर विदेश गएका छन् । घरहरु खाली छन् । यसको समस्या कसरी समाधान हुन्छ ?” उहाँले प्रश्न गर्नुभयो ।

सरकारको संरक्षणमा सहकारीमार्फत ठगी भइरहेको बताउँदै उहाँले सहकारीले ठगेका पैसा जसरी पनि जनतालाई दिलाउनुपर्नेमा केसीले जोड दिनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्र तथा गणतन्त्रका लागि लड्यौँ । तर जनतालाई त्यसपछि के के दियौ त ? त्यही महँगी होइन ?

सांसद केसीले नयाँ पिढी विदेशिदा मुलुक रित्तो हुँदै गएकाले नीति निर्माताले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै उहाँले नयाँ पिढीलाई देशमै राख्ने प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “हामीले घोषित नीतिअनुसार राजनीति गर्न सकेनौँ । अहिले मुलुकको यथार्थ तस्बिर हेर्ने हो भने नयाँ पिढी बाहिर गइरहेका छन् । यही हो हाम्रो प्रगति ? यही हो प्रगति ?

सांसद प्रेम सुवालले पूर्वाधार क्षेत्रमा विकास भएको दाबी गर्ने तर ऋण बोकाएको बारेमा कसैले नबोल्ने प्रवृत्ति गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेमकिपा बाहेक सबै दल मिलेर सरकार गठन हुँदा देश र जनताको समस्या सामाधान गर्ने काम हुन सकेको छैन ।” उहाँले पूर्वाधार नै नभएका विश्वविद्यालयसँग सम्बन्धित विधेयकलाई अघि बढाउने काम भएकामा आपत्ति प्रकट गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले वर्सेनि बढ्दै गएको सार्वजनिक ऋणप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले आर्थिक भ्रष्टाचार मात्रै नभई नीतिगत भ्रष्टाचार समेत मौलाएको उल्लेख गर्दै त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले सरकारले लिएको ऋण के मा खर्च भएको छ भनेर श्वेतपत्र जारी गर्न माग गर्नुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading