काठमाडौँ, १८ माघ : प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ ।
आजको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले कार्यसूचीमा अघि बढ्न सहयोगका लागि रास्वपा सांसदहरुसँग अनुरोध गर्नुभएको थियो । आजको बैठकमा दलीय आधारमा समय निर्धारण गरेर विचार राख्ने व्यवस्था गरेकाले सोहीअनुसार बैठक सञ्चालनका लागि सहजीकरण गर्न उहाँले आग्रह गर्नुभएको थियो ।
“हामीले बैठकको कार्यसूचीबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा पर्याप्त छलफल गरेका छौँ । निर्धारण भएको कार्यसूचीअनुसार दलीय आधारमा सबैले आफ्ना कुरा राख्न पाउनुहुन्छ । तपाईंहरु आफ्नो आसनमा बसेर सभा सञ्चालनका लागि सहयोग गरिदिनुस्”, सभामुख घिमिरेले भन्नुभयो ।
बैठकमा सभामुख घिमिरेले रास्वपा सांसदहरुलाई बस्न पटकपटक अनुरोध गर्नुभएको थियो । तर पटकपटकको अनुरोध नमानेपछि सभामुख घिमिरेले बस्न आदेश दिनुभयो । तर सभामुख घिमिरेको आदेशको रास्वपा सांसदहरुले अटेर गरेका छन् ।
रास्वपा सांसदहरुले आफ्ना कुरा राख्न आकस्मिक समयमा बोल्न पाउनुपर्ने माग राखेको छ भने सभामुख घिमिरेले सबै दलहरुलाई बोल्नका लागि दलीय आधारमा समय निर्धारण भएकाले तोकिएको सोही समयमा आफ्ना कुरा राख्न आग्रह गर्नुभयो । त्यस्तै, नियमित बैठक र अधिवेशनको सुरुआती बैठकको फरकबारे पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । रास्वपा सांसदहरुको विरोधकै बीच आजको बैठक अघि बढेको छ ।