बिहिबार, माघ १७, २०८१

सरकारले ल्याएका अध्यादेशको विरोध गर्ने विपक्षी दलहरूको निर्णय


१७ माघ, काठमाडौं ।  संघीय संसद्का विपक्षी राजनीतिक दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको विरोध गर्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलहरूको बैठकले अध्यादेशका विरुद्धमा आवश्यक परेमा सडक प्रदर्शन गर्ने पनि निर्णय गरेको छ ।

विपक्षी ७ राजनीतिक दलको बैठकले शुक्रबारबाट सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेको थियो । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सात दलहरू सहभागी भएको र बैठकले संसद्मा जनसरोकारका विषयमा एकमत हुने निर्णय लिएको बताए । विपक्षी दलहरूको बैठकले अध्यादेश सरकारले गलत विधि र प्रक्रियामार्फत ल्याएको र यसलाई अस्वीकार गर्ने निर्णय भएको पाण्डेले जानकारी दिए ।

बैठकले संघीय संसद्का अधिवेशनहरूमा व्यवस्थित रूपमा जनताका सरोकारलाई उठाउने भएको छ । अध्यादेशका बारेमा सरकारले जसरी सदनमा ल्याएर सबै कानुनहरू व्यवस्थित तरिकाले अघि बढाउनुको सट्टा सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाको हिसाबले पनि बेठिक छ, सँगसँगै एउटा अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन त सरकारले अध्यादेशमा छिटो गर्ने भनेको छ, तर त्यो त संसद्को अर्थ समितिमा छलफलमै छ,’ पाण्डेले भने,  ‘त्यहाँबाट छलफल गरेर पारित गर्दा झन् छिटो हुन्थ्यो । सरकारले त्यसलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ । विधि, प्रक्रियाको हिसाबले छिटो गर्ने भन्ने छ त्यसमा बेठिक भयो । त्यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ । सुशासनकाबारे, जनजीविकाकाबारे जनताका आवाजहरू जे गर्नुपर्ने थियो, सबै कुरामा पनि गम्भीर ढंगले छलफल भएको छ ।

प्रमुख सचेतक पाण्डेले सरकार अध्यादेशका माध्यमबाट जानु बेठिक भएको निष्कर्ष निकालेको जानकारी दिए । सदनलाई सशक्त ढंगबाट जनताका आवाज मुखरित गर्ने ठाउँ बनाउनुपर्ने उनको भनाइ थियो । सरकारका कामकारबाही विरुद्धमा आवश्यक परे सडक आन्दोलनको तयारीसमेत गर्ने उनले चेतावनी दिए ।

विपक्षी दलहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष स्वर्णिम वाग्ले, नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेताहरू सहभागी थिए ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading