बिहिबार, माघ १७, २०८१

‘डिपसिक’ अमेरिकी प्रविधि कम्पनीका लागि चेतावनी : राष्ट्रपति ट्रम्प


काठमाडौँ, १५ माघ :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी ‘डिपसिक’ को उदय अमेरिकी प्रविधि उद्योगका लागि चेतावनी भएको जनाएका छन् । अमेरिकामा एप्पलको एपस्टोरमा सबैभन्दा लोकप्रिय नि:शुल्क एप बनेको डिपसिक एआई एसिस्टेन्सको उभारपछि अमेरिकाका प्रविधि कम्पनीहरूको सेयरमा भारी गिरावट आएको छ । जसका कारण एनभिडियाले ६ अर्ब डलर गुमाइसकेको छ ।

एक वर्षअघि स्थापना भएको सो स्टार्टअप कम्पनीले ‘आर-१’ नामक च्याटजीपीटीजस्तै एआई मोडेल निर्माण गरेको हो । यो ओपेनएआईको च्याटजीपीटी, गुगल र मेटाका नयाँ एआई मोडलभन्दा निकै सस्तो मूल्यमा सञ्चालन हुने भएकाले यसले सबैलाई चुनौती दिएको विश्लेषण भइरहेका छन् ।

ट्रम्पले भने चीनको एआई उद्योगमा पछिल्लो घटनाक्रम अमेरिकाको लागि सकारात्मक हुन सक्ने बताएका छन् । ‘यदि यो काम सस्तोमा गर्न र उपलब्ध गराउन सकिन्छ भने यो हाम्रा लागि राम्रो कुरा हो,’ ट्रम्पले भनेक छन् । अमेरिका प्रविधिको मैदानमा एक प्रभावशाली खेलाडी रहिरहने उनको भनाइ छ ।

अमेरिकाले चीनलाई एआईलाई शक्ति दिने उन्नत चिप प्रविधिको बिक्रीमा प्रतिबन्ध लगाएसँगै डिपसिकको उदय भएको हो । आयातित उन्नत चिप्सको स्थिर आपूर्तिबिना आफ्नो काम जारी राख्न चिनियाँ एआई विकासकर्ताहरूले मिलेर काम गरेका छन् ।

राष्ट्रपति ट्रम्पले उन्नत एआई मोडलहरू विकास गर्न ‘स्टारगेट’ नामक डेटा सेन्टर परियोजना स्थापना गर्ने घोषणा गरिरहँदा प्रयोगकर्ताहरू भने चिनियाँ च्याटबट डाउनलोड गर्नतिर लागेका छन् ।

डिपसिकले आफ्नो नयाँ एआई मोडल विकास गर्न जम्मा ५६ लाख अमेरिकी डलर खर्च गरेको जनाएको छ । अन्य एआई कम्पनीहरूले भने आफ्ना एआई प्रविधिहरूमा अर्बौँ डलर खर्च गरिरहेको बताउने गरेका छन् । गत साता मात्रै सार्वजनिक भएको डिपसिकले अमेरिकामा आफ्नो प्रतिस्पर्धी च्याटजीपीटीलाई पछि पारिसकेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading