भालुबाङ । गए राति राप्ती नदीकाे पुलबाट खसेर दुर्घटनाग्रस भएको बसका चालक लालबहादुर नेपालीले टायर नमोडिएपछि दुर्घटना हुनपुगेकाे बयान दिएका छन् । प्रहरीसँग साेधपुछका क्रममा चालक नेपालीले सापट बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेकाे बयान दिएका हुन् । दुर्घटनामा सामान्य घाइते भएका उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्दा चक्का नघुमेपछि बस पुलबाट खसेकाे बताएका छन्। दुर्घटनामा १२ जनाकाे मृत्यु भएकाे छ । यसमध्ये मृत्यु भएका ८ जनाकाे मात्रै अहिलेसम्म सनाखत भएकाे छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बाँकेकी ६० वर्षीया कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे, भारतकाे उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत रहेका छन् । यस्तै बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र रामकाे पनि दुर्घटनामा मृत्यु भएकाे छ । दुर्घटनामा मृत्यु भएका अन्य चार जनाकाे सनाखत हुन बाँकी रहेकाे इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहले बताए । घाइतेमध्ये केहीकाे बुटवल र नेपालगञ्ज तथा केहीकाे भालुवाङ अस्पतालमा उपचार भइरहेकाे छ ।
घटनालगत्तै पुगेको प्रहरीले पाँच जनालाई उद्धार गरी अस्पताल पठाउँदा उनीहरूको अस्पतालमै चिकित्सकले मृत्यु घोषणा गरेका थिए । पछि बसले च्यापिएको अवस्थामा सात जनाको शव जेसीवीले निकालेको सिंहले बताए । नेपालगञ्जबाट काठमाडाैंका लागि छुटेको नमस्ते यातायात प्रालिको भे १ ख ३९१२ नम्बरको बस गए राति साढे १० बजे भालुबाङमा दुर्घटनामा भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













