मङ्गलबार, माघ ०१, २०८१

बङ्गलादेशद्वारा शेख हसिनाको परिवारविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


काठमाडौँ २९ पुसः   बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगले पदच्यूत नेत्री शेख हसिना र उहाँको परिवार विरुद्ध मुद्दा दायर गरेको छ । यसमा बेलायती सरकारका मन्त्री र संयुक्त राष्ट्रसङ्घका एक वरिष्ठ अधिकारी पनि समावेश छन् ।

सन् २०२४ अगस्टको क्रान्तिपछि ७७ वर्षीया हसिना छिमेकी भारत भाग्नुभएको थियो । त्यहाँ उहाँले सामूहिक हत्यासहितका आरोपहरूको सामना गर्न बङ्गलादेशबाट प्रत्यर्पण अनुरोधलाई अवहेलना गर्नुभएको छ ।  यी मुद्दाहरू सघन जनसङ्ख्या भएको राजधानी ढाकाको उपनगरमा मूल्यवान जग्गाहरूको कथित ठूलो मात्रामा अतिक्रमणसँग सम्बन्धित छन् ।

शेख हसिनाले केही अधिकारीहरूसँग मिलेर आफू र आफ्ना परिवारका सदस्यहरूका लागि प्लटहरू छुट्याउनुभयो”, भ्रष्टाचार विरोधी आयोग (एसिसी) का महानिर्देशक अख्तर हुसेनले पत्रकारहरूलाई भन्नुभयो ।  यस मामिलामा नाम उल्लेख गरिएका व्यक्तिहरूमा हसिनाकी भतिजी एवं बेलायती भ्रष्टाचार विरोधी मन्त्री ट्युलिप सिद्दिक पनि रहेको हुसेनले जानकारी दिनुभयो । सिद्दिकले आफूले केही गलत नगरेको दाबी गर्नुभएको छ ।

हसिनाकी छोरी सायमा वाजेद एवं विश्व स्वास्थ्य सङ्गठनकी दक्षिणपूर्वी एसियाकी प्रमुख पनि सूचीमा हुनुहुन्छ । वाजेदबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

एसिसी अनुसन्धान टोलीले आवश्यक कागजातहरू प्राप्त गरेको छ र मुद्दा दायर गर्न पर्याप्त प्रमाण फेला पारेको छ”, हुसेनले भन्नुभयो, “थप अनुसन्धान गर्दा सम्पत्ति प्राप्तिका सम्बन्धित विवरणहरू पनि समावेश गरिनेछन् ।

हसिनाका छोरा सजीब वाजेद जोय र सिद्दिककी आमा एवं हसिनाकी बहिनी शेख रेहानाको नाम पनि राखिएको छ । सिद्दीकले यस महिना आफूलाई बेलायती प्रधानमन्त्री किर स्टारमरको मानक सल्लाहकार भएको बताउनुभयो ।  बेलायती अखबार सन्डे टाइम्स र फाइनान्सियल टाइम्सले उहाँ हसिनाको प्रशासनसँग सम्बन्धित सम्पत्तिमा बसेको रिपोर्ट गरेपछि यो रेफरल आएको हो ।

बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगले डिसेम्बरमा रुसी लगानीको आणविक ऊर्जा संयन्त्रसँग सम्बन्धित पाँच अर्ब डलरको कथित हिनामिना गरेको आरोपमा हसिनाको परिवारविरुद्ध अनुसन्धान सुरु गरेको थियो ।  घुसको आरोप १२ अर्ब ६५ करोड डलरको रुपपुर आणविक संयन्त्रसँग सम्बन्धित छ । उक्त संयन्त्रमा मस्कोले ९० प्रतिशत ऋण लगानी गरेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading