बुटवल (झुम्सा), १६ पुस : खानेपानीमन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मन्त्री यादवले भन्नुभयो, “झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण गरी यहाँका नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने सरकारको लक्ष्य छ । सोहीअनुसार काम भइरहेको छ । बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।”
झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करिब तीन लाख जनसङ्ख्या लाभान्वित हुनेगरी दैनिक करिब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको सो कार्यक्रममा मन्त्री यादवले जानकारी दिनुभयो ।
करिब रू छ अर्बको लगानीमा झुम्सा खानेपानी आयोजना सुरू भएको झण्डै तीन दशक पुग्न लागेको बताइएको छ । विसं २०५२/०५३ मा पाल्पाको सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित झुम्सा खानेपानी आयोजना सुरू भएको नेपाल खानेपानी संस्थानले जनाएको छ ।
सुरूमा केही वर्षको प्रयासका बाबजुत आयोजना असफल भएपछि फेरि विसं २०६४ मा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरू गरिएको नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सो अवधिमा खानेपानीको मुहानमा निर्माण गरेको ट्याङ्की नै खोलाले बगाएपछि समस्या भयो । पछिल्लो समय विसं २०७७ मा शिलान्यास गरेको झुस्सा खोलाको काम अहिले सुचारू अवस्थामा रहेको छ ।”
झुम्सा खोलामा बाँध निर्माण गरी ट्रष्ट पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने तथा दोस्रो चरणअन्तर्गत बुटवल–३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने र भण्डारण ट्याङ्की बनाएर पानी वितरण गरिने खानेपानी संस्थानले जनाएको छ ।

सरोकारवालसँग आज गरिएको विस्तृत छलफल तथा अन्तक्र्रियामा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, तिनाउँ गाउँपालिका पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष यज्ञ गैरे, एमाले पार्टी सहसचिव बाबुराम पन्थीको सहभागिता रहेको थियो ।
कर्मचारीका तर्फबाट मन्त्रालयमा सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, सहसचिव राजेन्द्र सापकोटा, खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख नीरन मर्हजन, प्रधान कार्यालयका प्रमुख बुद्धरत्न मर्हजन, मोहनदत्त भट्ट, आयोजना प्रमुख मन्दीप श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















