शनिबार, पुष १३, २०८१

लहानको भटियाटोलका दलित महिला कृषि र पशुपालनमा रमाउँदै


सिरहा, १२ पुसः आजभोलि जमुना सदायलाई ज्याला मजदुरीको काम खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको छ । लहान नगरपालिका–१२ की जमुना बाख्रापालन र तरकारीखेतीमा रमाउन थाल्नुभएको छ । कृषि र पशुपालन पेसाबाट उहाँको परिवारको जीविकोपार्जन हुनुका साथै आम्दानी पनि भइरहेको बताउँदै उहाँले अहिले अरूको घरमा काम खोज्दै जानुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्नुभयो ।

तराई मधेशका अधिकांश विपन्न दलित समुदायका युवा कामको खोजीमा भारतका विभिन्न सहरमा भौँतारिरहेका हुन्छन् । गाउँमा भएका महिला र पुरूषहरू जीविकोपार्जनका लागि अरूको घरमा ज्याला मजदुरी गर्न बाध्य छन् । नाना, छाना र खानाको अभावमा रोग, भोक र शोकमा जीवन व्यतित गर्ने दलित समुदायको दैनिकीलाई कृषिकर्मबाट जमुनाले केही हदसम्म पार लगाउनुभएको हो ।

बाख्रा पालेकी छु । बटैया (बटिया)मा भए पनि खेती गरेकी छु । धान रोप्ने, तरकारी उब्जाउनेबाट आफूलाई खान र बजारमा लगेर बिक्री गरी आम्दानी गर्न पुगेको छ”, जानुकाले भन्नुभयो, “सधँै अर्काकोमा गएर मजदुरी गर्नुभन्दा आफ्नै पौरखमा खुसी मिलेको छ ।” उहाँले कृषिकर्मबाट परिवारको खर्च, बालबच्चाको पालनपोषण र अध्ययन खर्च जुटाइरहेको बताउनुभयो ।

सोही टोलकी उर्मिलादेवी सदायको भोगाइ पनि जमुुनाको जस्तै छ । तरकारीखेती र पशुपालनबाट दैनिक जीवनयापनको परिभाषा बदलिएको उहाँले बताउनुभयो । जमुना र उर्मिलादेवीका छोरी अञ्जलीकुमारी सदाय र आरतीकुमारी सदायले लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययन गरिरहेका छन् । पठनपाठनमा खासै ध्यान नदिने यहाँका दलित समुदायभित्र, त्यो पनि छोरीलाई १२ कक्षासम्म अध्ययन गराएर समाजमा एउटा उदाहरण प्रस्तुत गर्नुभएको छ जमुना र उर्मिलादेवीले ।

हामीले नपढेर दुःख पायौैँ । कालो अक्षर भैँसी बराबर भएको छ । सधैँभरि अर्काकै भरमा, मजदुरी गरी जीवन निर्वाह गर्नुपरेको छ”, पीडा पोख्दै आरती उर्मिलादेवीले भन्नुभयो, “अब त्यही नियती छोराछोरीले भोग्नु नपरोस् । उनीहरूले हाम्रो जस्तो दुःख नपाऊन् ।” दुई छोराछोरीमध्ये छोरा सुरज सदाय कक्षा ५ मा अध्ययन गरिरहेका छन् ।

भोटियाटोलमा १९ दलित परिवार छन् । तीमध्ये १७ परिवार मिलेर ‘हिमालय महिला बचत समूह’ निर्माण गरी सामूहिक बचतसमेत गर्दै आएका छन् । स्थानीय अधिकार कार्यक्रमअन्तर्गत ‘एक्सन एड’को आर्थिक सहयोगमा दलित जनकल्याण युवा क्लबले यहाँका विपन्न दलित बस्तीमा महिला समूह बनाई आयआर्जनका लागि कृषि र पशुपालनको उपर्युक्त वातावरण निर्माण गरिदिएको हो ।

क्लबका सामाजिक परिचालक सुमन चौधरीका अनुसार आयआर्जनका लागि यहाँका १७ दलित परिवारलाई गत वर्ष प्रतिघर दुईवटा उन्नत जातका बाख्रा वितरण गरिएको हो । यस वर्ष आठ परिवारलाई १६ वटा बङ्गुर वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

समूहका महिलाले मासिक रू एक सय बचत गर्ने गरेका समूहका अध्यक्षसमेत रहनुभएकी जमुनाले बताउनुभयो । उहाँका अनुसार हालसम्म कोषमा जम्मा रु एक लाख ५० हजार बचत भइसकेको छ । उक्त रकम सस्तो ब्याजदरमा व्यवसायका लागि पालैपालो समूहका महिलाहरूले चलाउने गरेको उहाँले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading