काठमाडौँ, १० पुसः विसं १७३३ को कुनै याममा तत्कालीन् मकवानपुरका राजा हरिहर (हरिश्चन्द्र) सेन सम्भवतः सप्तरी, महोत्तरी वा सो क्षेत्रमा पर्ने जगतपुर भन्ने ठाउँमा पुग्नुभएको थियो । उहाँले त्यही टुरमुकामबाट चैनपुरका श्रवाजा, फेश्राप, नपुरान्जालाई पाँच मौजा पांमा, मांगमा, तेवें, वोश्रनिमा र तापंनागोलाई स्याहामोहर जारी गर्नुभएको थियो ।
स्याहामोहरमा मानिसले प्राप्त गरेको जग्गा उपभोग गर्दै राज्यको सेवा गर्नु भनिएको थियो । उक्त स्याहामोहर वनेम फागोसँग पाइयो । स्याहामोहरमा उल्लेखित व्यक्तिहरु वनेम फागो नै भएका र निजहरू सेनकालीन दरबारमा मन्त्री, काजी वा जागिरे रहेको पुष्टि हुन्छ ।
सेन राजाले लिम्बू, खम्बू, याक्खा, आठपहरिया र याम्फूलाई राय, राये, राई भनी स्याहामोहर प्रदान गर्नुभएको थियो । हरिहरसेनको राज्यकाल विसं १७१३ देखि १७३८ सम्म मानिन्छ । उहाँले भारतको गोण्डावारसम्म राज्यविस्तार गरी आफूलाई हिन्दूपति राजा घोषणा गर्नुभएको थियो । तीन सय ४८ वर्ष पुरानो यो स्याहामोहर भगिराज इङ्नामद्वारा सङ्कलित तथा प्रकाशित पुस्तक ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तकको पहिलो दस्तावेजका रूपमा राखिएको छ । इतिहास अन्वेषक रमेश ढुङ्गेलमार्फत यो दस्तावेज लिइएको सङ्कलक भगिराज इङ्नामले उल्लेख गर्नुभएको छ ।
इतिहासकार इङ्नाम नेपाली इतिहास लेखनका लागि कुनै नयाँ नाम होइन । उहाँको पहिलो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ले विसं २०७८ मा मदन पुरस्कार प्राप्त गरिसकेको छ । सोही पुस्तकको अर्को अंश वा भागका रूपमा हालै ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ प्रकाशित भएको हो । माथी उल्लेखित स्याहामोहरको प्रसङ्ग केवल यो पुस्तकमा सङ्ग्रहित तथा सङ्कलित एक दस्तावेज उदाहरणका रूपमा मात्र प्रस्तुत गरिएको हो । यस पुस्तकमा विसं १७३३ देखि २०२५ सम्मका महत्त्वपूर्ण तीन सय ८५ वटा दस्तावेज सरल र बुझिने गरी अनुवादसहित प्रस्तुत गरिएका छन् ।
तत्कालीन् शासकले जारी गरेका भोजपत्र, स्याहामोहर, लालमोहर, कस्यरुक्का, कस्यपत्र, कस्यपत्रम् र लिखित अभिलेख यस पुस्तकमा सङ्ग्रहित छन् । त्यतिमात्र नभइ शिलालेख, धनकुटा मार्गाथानको घण्टीको लेख र तिब्बती लिपिको पाँचवटा दस्तावेज यहाँ प्रस्तुत गरिएको छ । लेखकले यो पुस्तक अघिल्लो पुस्तकमा छुटेका दस्तावेजको पूरक एवं निरन्तरता हो भन्नुभएको छ ।
अघिल्लो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ जति रोचक र महत्त्वपूर्ण पुस्तकका रूपमा प्रकाशित भएको थियो, ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पनि उत्तिकै महत्त्वपूर्ण मानिएको लेखक इङ्नामले बताउनुभयो ।
अघिल्लो र यी दुवै पुस्तकमा समावेश अभिलेख अध्ययन गर्दा इतिहासमा रुची हुने पाठकले एक अभिलेख पढ्न नभ्याउँदै अर्को पल्टाउन मन लाग्ने किसिमका रहेका उहाँको भनाइ छ । विषयसूची हेरेर पुस्तक अध्ययन गर्ने हो भने पनि आठ सय ५० भन्दाबढी पृष्ठको यस पुस्तकका कम्तिमा ५० देखि एक सयवटा अभिलेखमा पाठकको ध्यान तानिन्छ । विषयसूचीमा आकर्षक किसिमका शीर्षक राखिएका छन् । ‘छोराले खाएको ऋण बाबुले तिर्नु नपर्ने’, ‘राईबाट फुटी नयाँ राई भएको’, ‘कन्ने केटीलाई करणी गरे दण्ड नलाग्ने’, ‘करणी मुद्दामा सात सुब्बाको फैसला’ लगायत हुन् ।
पुस्तकमा समावेश दस्ताबेजमा पृथ्वीनारायण शाह र प्रतापसिंह शाहबाट अभिमानसिंहलाई प्रदान गरिएको लालमोहरमा विजयपुर सेन राज्यका देवान बुद्धिकर्णलाई ‘राई’ भनिएको तर विसं १८२४ र १८२९ मा बुद्धिकणले जारी गर्नुभएको स्याहामोहरमा बुद्धिकर्ण ‘राय’ भन्ने उल्लेख गरिएको रोचक विषय समावेश छन् । पृथ्वीनारायण शाहले विसं १८३१ मा पुनी रायलिम्बूलाई प्रदान गर्नुभएको, लालमोहरमा सिरिंग्या लिम्बूसहित दरबारमा मिल्न आए सिरपाउ (पुरस्कार दिने भनी प्रलोभन देखाएको प्रसङ्गले त्यस समयमा सिरिंग्या लिम्बू गोरखाली सेनाविरुद्ध रहेछन् भनेर अनुमान गर्न सकिन्छ ।
यी र यस्ता सयौँ रोचक तथ्यले भरिएको छ, ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ पुस्तक । सङ्कलक तथा लेखकको मेहनत कति छ भनेर सामान्य पाठकले अनुमान नै गर्न सक्दैन । यत्तिको दस्तावेज सङ्कलन गर्नका लागि कति समय र मेहनत गर्नुप¥यो होला भनेर लेखकले सरसर्ती पुस्तकमा उल्लेख गर्नुभएको छ, तर पाठकले पुस्तक अध्ययन गरेपछि लेखकले उल्लेख गर्नुभएको भन्दा बढी मेहनत यस पुस्तकमा भएको बताउन सकिन्छ । पुस्तकमा उल्लेखित दस्ताबेजहरूले तत्कालीन समग्रमा पल्लोकिराँत अर्थात् लिम्बुवानको इतिहासलाई जस्ताकोतस्तै प्रस्तुत गरेको छ ।
तत्कालीन ओल्लो किराँत, माझ किराँत र पल्लो किराँतका धेरै इतिहास मिथक अर्थात् मौखिक रूपमा मात्र सुनिँदै आएकामा यस पुस्तकका लेखक तथा सङ्कलक इङ्नामले त्यसलाई तथ्यसहित दस्ताबेजीकरण गर्नुभएको छ । जुन कार्य इतिहासमा एक सर्वकालिक महत्त्वपूर्ण काम होभन्दा अत्युक्ति हुँदैन । पुस्तकले विभिन्न बहसका लागि पनि सहज पारिदिएको छ । राई, लिम्बु, सुब्बाजस्ता थर वास्तवमा थर हुन् कि पदवी ? राई, राइ हो कि राय ? यस्ता अनेकन् तथ्य यहाँ सङ्ग्रहित दस्तावेजमा उल्लेख छन् । जसलाई एउटा आधार मानेर थप तथ्य पत्ता लगाएर सदियौँदेखिका विवादलाई समाधान गर्न सहज बनाइदिएको छ ।
दस्ताबेजले तत्कालीन् इतिहासमात्र देखाउँदैन, त्यतिखेरको पल्लोकिराँतको आर्थिक, सामाजिक, साँस्कृतिक अवस्थालाई उजिल्याउने काम गरेको छ । चेतनास्तर, ससाना थुम्का र गढीहरूमा रहेर शासन गर्ने प्रणाली, सङ्घीय राजधानीमा रहने शासकसँगको सम्बन्धलगायत विषयका बारेमा जानकारी दिन्छ ।
विसं १८३१ पछि राई र लिम्बुलाई तत्कालीन् शासकले फुटाएर ‘फुटी सुब्बा’ वा ‘फुटी राई’ बनाएको प्रसङ्ग लेखकले आफ्नो लेखकीयमा उल्लेख गर्नुभएको छ । जसका कारण धेरै लिम्बु फुटी सुब्बा हुँदा जग्गाविहीन बनेको उहाँले निष्कर्षको रुपमा लेख्नुभएको छ । कतिपय किपटभूमि खोस्ने काम त्यतिबेलै भएको उहाँको ठहर छ ।
मुन्धुम एकेडेमीले प्रकाशन गरेको यस पुस्तकको सह–प्रकाशनमा ताप्लेजुङ र मोरङका एक÷एक गाउँपालिका तथा तेह्रथुमका दुई नगरपालिका र चार गाउँपालिकाले सहयोग गरेका छन् । स्थानीय सरकारले इतिहास लेखनमा सहप्रकाशकको रूपमा सहयोग गरेको काम अन्य स्थानीय तहका लागि पनि अनुकरणीय छ ।
डा त्रिरत्न मानन्धर र जगदीश रेग्मीको हस्तलिखित भूमिका पुस्तकको सुरुमा राखिएको छ । तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाका प्रमुख तथा इतिहासका अध्येता अर्जुनबाबु माबुहाङले लेखक भगिराज इङ्नाम र लिम्बुवानको इतिहास लेखनबारे स्पष्ट पार्नुभएको छ । दस्ताबेजका स्रोत व्यक्तिहरुको नाम र दस्ताबेज अनुवादकको नाम राखेर लेखकलाई सबैलाई सम्मान गर्नुभएको छ ।
निजामति सेवाबाट निवृत्त लेखक पूर्वप्रशासकसमेत हुनुहुन्छ । यस पुस्तकको मूल्य रु दुई हजार कतिपयका लागि महङ्गो लागेपनि यहाँ समावेश भएका दस्ताबेजको अध्ययनपश्चात् उक्त मूल्य थोरै महसुस हुन सक्छ । तसर्थ क्षेत्रीय रूपमा कमै मात्र लेखिएको राजधानी काठमाडौँ पूर्व र त्यसमा पनि ओल्लोकिराँत अर्थात् लिम्बुवानबारे इतिहास बुझ्नका लागि सबैभन्दा पठनीय सङ्ग्रहको रूपमा यो पुस्तक किन्नु उपयुक्त हुन्छ । त्यसका लागि सम्भव भएमा लेखकका अघिल्लो पुस्तक पनि किन्न सकेमा पाठकका लागि सुनमा सुगन्ध हुने प्रकाशकको भनाइ छ ।