सोमबार, पुष ०८, २०८१

सुदूरपश्चिममा प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन


सुदूरपश्चिम, २ पुसः सुदूरपश्चिम प्रदेशसभाको दुईतिहाई बहुमतले स्थायी राजधानी रहने स्थानको टुङ्गो लगाएको छ वर्ष भइसक्दा पनि राजधानी स्थापनाको काम अघि बढ्न सकेको छैन ।

तत्कालीन प्रदेशसभाले विसं २०७५ मा कैलालीको गोदावरी नगरपालिका–२ र ४ को बीचमा पर्ने तेघरी क्षेत्रमा स्थायी राजधानी स्थापना गर्ने र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्नेसम्बन्धी प्रस्तावलाई दुई तिहाई बहुमतले पारित गरेको थियो ।

सङ्घीय सरकारले राजधानी निर्माण गरिने स्थलको जग्गाको स्वामित्व हस्तान्तरण नगर्दा निर्माण अघि बढ्न नसकेको प्रदेश सरकारले बताउँदै आएको छ । राजधानी निर्माण गर्न तोकिएको क्षेत्रमा रुख, बुट्यानसहितको जङ्गल छ । वन क्षेत्रको जग्गा तोकिएकाले प्रदेश सरकारले उक्त जग्गा अहिलेसम्म प्राप्त गर्न सकेको छैन ।

स्थायी राजधानी रहने स्थान र प्रदेशको नामाङ्कन सम्बन्धमा सुझाव दिन तत्कालीन प्रदेशसभाले पाँच सदस्यीय विशेष सुझाव समिति गठन गरेको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घीय सरकारले स्थायी राजधानी निर्माणका लागि निकास नदिए अब विकल्प खोजिने बताउनुभयो । उहाँले राजधानी स्थापनाका विषयमा प्रधानमन्त्री र अन्य दलका शीर्ष नेतासँग भेटेर निकास दिन लिखित आग्रह गरिए पनि हालसम्म सुनुवाई नभएको बताउनुभयो ।

यस विषयमा प्रदेश सरकारले प्रदेशसभाको आगामी अधिवेशनमा उपयुक्त निर्णय गरेर अघि बढ्ने योजना बनाएको छ । स्थायी राजधानी रहने स्थानको टुङ्गो लगाएको लामोसमय भइसक्दा पनि काम अघि नबढेपछि स्थायी राजधानी बन्नेमा स्थानीयवासी पनि निराश छन् । स्थानीयवासी जगविर थापाले भन्नुभयो, “तेघरी क्षेत्रमा राजधानी बन्ने कुराले सुरुको वर्षमा स्थानीयवासीमा हौसिएका थियौँ तर राजधानी स्थापनाबारे सरकारका तर्फबाट कुनै पहल नहुँदा निराश भएका छौँ । अब चाँडै निकास दिन हाम्रो आग्रह छ ।

विसं २०७९ मा भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दलका प्रत्यासीले तेघरीमा राजधानी स्थापनाको मुद्दालाई प्राथमिकताका साथ उठाएका थिए । अचेल भने उहाँहरूबाट समेत उचित भूमिका निर्वाह हुन नसकेको स्थानीयको बुझाइ छ ।

प्रदेशसभाको दुई तिहाईको जनादेश पनि कार्यान्वयन हुननसक्ने अवस्था देखिनु दुःखद् भएको अर्का स्थानीयवासी यज्ञराज हमाल बताउनुहुन्छ । “हालसम्म राजधानी स्थापना गरिने ठाउँमा कुनै काम सुरु हुन नसक्नुमा नेताकै पहलकदमीको अभाव हो”, प्रतिभा पुस्तकालय अत्तरियाका उपाध्यक्षसमेत रहनुभएका हमालले भन्नुभयो “निर्माण गरिने स्थल छ वर्षअघि जस्तो थियो अहिले पनि त्यस्तै छ, कुनै काम भएको छैन । यसरी अनिर्णयको बन्दी बन्नुहुँदैन ।

राजधानी स्थापनाको निर्णयसँगै खुसीभएका स्थानीयबासीले निर्माण स्थलमा टाँगेको फ्ल्याक्स बोर्ड (साइन बोर्ड) पनि अहिले हराइसकेको छ ।

प्रदेशको नामाङ्कनका विषयमा विमति नदेखिए पनि स्थायी राजधानी निर्माणस्थलका बारेमा भने त्यतिबेलै प्रमुख प्रतिपक्षी दल र संरक्षणप्रेमीले जङ्गल मासेर राजधानी बनाउने कार्यले मोहना नदी ‘करिडर’ र जैविक विविधतामा प्रतिकूल असर पुग्ने भन्दै असहमति जनाएका थिए ।

प्रदेशसभाले गरेको निर्णयबमोजिम तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारको पहलमा तेघरी क्षेत्रमा वन ऐनअनुसार सम्भाव्यता अध्ययन पूरागरी जग्गा प्राप्तिको प्रक्रिया अघि बढाए पनि त्यसपछिका वर्षमा भने खास प्रगति हुनसकेको छैन ।

प्रदेश सरकारको हरेक वर्षको बजेट कार्यक्रममा राजधानी स्थापनाको विषय समेटिने गरेकामा पछिल्ला वर्षको बजेटमा यो विषयसमेत समेटिन छाडेको छ ।

प्रदेशको अस्थायी राजधानी धनगढीबाट झण्डै १७ किलोमिटर उत्तरतर्फ रहेको तेघरी क्षेत्र धनगढी–डडेलधुरा(भीमदत्त) राजमार्गको छेउमै रहेको छ । तेघरीदेखि पाँचकिलोमिटर उत्तरतर्फको चुरेपहाडको फेदमा पवित्र तीर्थस्थल गोदावरीधाम छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला प्रवेश गर्ने मुख्य प्रवेशद्वारका रूपमा रहेको यस धाममा हरेक वर्ष माघे सङ्क्रान्तिका दिन मेला लाग्छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading