काठमाडौँ, २६ मङ्सिरः साइन्स फिक्सन फिल्म ‘कल्की : २८९८ एडी’ र नेटफ्ल्क्सि श्रृंखला ‘हीरामण्डी : द डायमण्ड बजार’ सन् २०२४ मा सबैभन्दा लोकप्रिय भारतीय फिल्म र सिरिज क्रमशः घोषित भएका छन् । विश्व फिल्मको चर्चित डेटाबेस पोर्टल आइएमडीबीले यो सूची सार्वजनिक गरेको हो, जसको शीर्ष स्थानमा यी दुई फिल्म र श्रृंखला छन् । आइएमडीबीले मासिक रुपमा हुने २५० मिलियन पेज भिजिटरको आधारमा यो तथ्यांक बाहिर ल्याएको जनाएको छ ।
यो फिल्म सूचीले भारतको बहुभाषिक मनोरञ्जन परिदृश्यलाई प्रतिविम्वित गर्छ, जसमा ७ हिन्दी भाषी फिल्म, तेलुगु (कल्की), तामिल (महाराजा) र मलायलम (मन्जुम्मेल ब्वाइज) छन् । उत्कृष्ट १० मा ‘स्त्री २ : सरकटेका आतंक’, ‘भूलभुलैया ३’ र ‘सिंघम अगेन’ पनि समावेश छन् ।
‘कल्की : २८९८ एडी’का निर्देशक नाग आश्विनले फिल्मको सफलताको श्रेय विश्वभर छरिएका दर्शकलाई दिएका छन् । ‘हामीले फिल्ममा हाम्रो आत्मा राख्यौं र यो संसारभरका सबै उमेरका मानिससँग प्रतिध्वनित भएको देख्दा खुसी लागेको छ’ उनले भने ।
स्ट्रिमिङतर्फ ३/३ शीर्षकसहित नेटफ्ल्क्सि र प्राइभ भिडियोको वर्चश्व छ । उत्कृष्ट १० मा नेटफ्ल्क्सिका ‘हीरामण्डी : द डायमण्ड बजार’, ‘मामला लिगल हे’ र ‘द ग्रेट इन्डियन कपिल शो’ छन् । सूचीको शीर्षस्थानमा मनीषा कोइराला स्टारर सिरिज ‘हीरामण्डी’ छ । प्राइम भिडियोका ‘मिर्जापुर’, ‘पञ्चायत’ र ‘सिटाडेल : हनी बनी’ पनि सूचीमा छन् ।
फिल्मतर्फ सूचीमा समावेश फिल्म ‘लापता लेडिज’ यसवर्ष भारतबाट अस्कर अवार्डमा सिफारिस भएको छ । आइएमडीबीको भारतका प्रमुख यामिनी पटोडियाले भनिन्, ‘यी सूचीहरूले यसवर्ष विश्वव्यापी दर्शकलाई मोहित गर्ने भारतीय कथा-वाचनको अविश्वसनीय आकर्षण प्रस्तुत गर्छन् ।’