सोमबार, पुष ०८, २०८१

रङ्गीविरङ्गी छाताले सिँगारियो धार्मिक पर्यटकीयस्थल दोमुखा


५ मङ्सिर, झापा । कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझँै सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न रु ४५ हजार लागतमा उक्त स्थललाई तीन सय वटा विभिन्न रङका छाताले बेहुलीझैँ सिँगारिएको छ ।

शिवसताक्षी नगरपालिका–१० मा पर्ने दोमुखा पूर्वपश्चिम राजमार्ग माईधार बजारबाट उत्तर तीन किलोमिटरमा छ । धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित दोमुखामा नवदम्पतीको फोटो खिच्न, विभिन्न म्युजिक भिडियो, चलचित्र छायाङ्कन र टिकटक बनाउन आउनेहरू पछिल्लो समय बढेका दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले बताउनुभयो । “हामीले पर्यटन प्रवर्द्धन गर्न वर्षैँपिच्छे नयाँ योजना कार्यान्वयन गरेका छौँ”, उहाँले भन्नुभयो, “पर्यटकको मनोभावना बुझेर त्यहीअनुसारका संरचना निर्माण गरेका हौँ ।

दोमुखामा आकर्षक बुद्धपार्क, व्यवस्थित वनभोजस्थल, बाल उद्यन, बहुसांस्कृतिक सङ्ग्रहालयलगायत संरचना छन् । दोमुखा सडकको प्रवेशद्धार माईधारमा आकर्षक द्धार निर्माण गरिएको छ । यहाँ आउने पर्यटकलाई मध्यनजर गरी ३० वटा बढी सानाठूला होटलसमेत सञ्चालनमा छन् । पालिकाले यस क्षेत्रका सडकका दुवैतिर सडकबत्ती जडान गरेर झिलीमिली बनाउने कार्यलाई अघि बढाएको शिवसताक्षी नगरपालिकाका प्रमुख रोशन थोप्राले जानकारी दिनुभयो । दोमुखामा साँझमा पनि पर्यटक आउने वातावरण बनाउन सन्ध्याकालीन कार्यक्रम पनि आयोजना गरिने योजना नगरप्रमुख थोप्राले बताउनुभयो ।

कनकाई नदीबाट नहरमा बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा मङ्सिरदेखि चैतसम्म पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, विहारलगायत स्थानबाट पर्यटक आउने गरेका छन् । वार्षिक एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेका छन् ।

महारभारत पर्वत शृङ्खलाबाट उत्पति भई चुरे पहाड हुँदै पूर्व मोहडा बनाई निस्कने कनकाई नदीको दक्षिणतर्फ नहर निर्माण गरी नदीलाई दुई मुखमा विभाजन गरेको हुँदा यस क्षेत्रको नाम दोमुखा रहेको हो ।

दोमुखालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न २०६२ सालमा दोमुखा धार्मिक तथा पर्यटकीय विकास समिति गठन भएको हो । हाल सो समितिमार्फत नगरपालिका, प्रदेश र सङ्घीय सरकारको आर्थिक सहयोगमा दोमुखामा कैयौँ भौतिक संरचना निर्माण भएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading