२७ कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरिएको हो ।
नदी किनारमा मानवीय क्रियाकलाप बढ्दै गएपछि चेतना जगाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको राप्ती सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले जानकारी दिनुभयो । करिब ३० किलोमिटरको दूरीमा गरिएको सरसफाइमा करिव दुई हजार आठ सय केजी फोहर स¬ङ्कलन गरिएको उहाँले बताउनुभयो । सो क्रममा सिसा, प्लाष्टिक, कपडा, बोटल, धातुलगायत २७ प्रकारका फोहर भेटिएको जनाइएको छ ।
अभियानले नदी क्षेत्रबाट २५ हजार मेट्रिक टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो । फोहर सङ्कलन गर्न २१ हजार स्वयंसेवक खटिएको उहाँले बताउनुभयो ।
राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने यस नदी क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जलचरसमेत पाइन्छन् । तर मानवीय क्रियाकलापका कारण उनीहरूलाई असर परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डा गणेश पन्तले जानकारी दिनुभयो । “यहाँ घडियाल गोही जालमा परेको पाइएको छ, मृगहरूले प्लाष्टिक खाएको देखिन्छ, गैँडालगायत जनावरका खुट्टामा सिसा गाडिएको देखेका छौँ”, उहाँले भन्नुभयो । “प्लाष्टिक तथा सिसाजन्य फोहरका कारण वनस्पतिलाई समेत असर पर्ने देखिन्छ ।”
राप्ती नदीलाई संरक्षण गर्न मानवीय व्यवहारमा परिवर्तनसँगै कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । सरसफाइ कार्यक्रममा निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती सामुदायिक वनका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता थियो ।