२२ कात्तिक, काठमाडौं । पछिल्लो समय बलिउड स्टारलाई एकपछि अर्को गरि ज्यान मार्ने धम्की आउन थालेको छ । अभिनेता सलमान खानले लगातार ग्याङस्टर लरेन्स बिस्नोइ र अज्ञात समूहबाट यस्ता धम्की खेपिरहेका छन् ।
भारतीय संचारमाध्यमका अनुसार, यस्तो धम्की अर्का स्टार शाहरुख खानलाई पनि आउन थालेको छ । फैजान खान नामका एक व्यक्तिले ज्यान मार्ने धम्की दिएको विवरणहरुमा जनाइएको छ । यस विरुद्ध महाराष्ट्रको बान्द्रा पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको उल्लेख छ ।
रायपुरका आरोपीले अभिनेतासँग ठूलो फिरौती मागेका छन् । मुम्बई प्रहरीको टोली अनुसन्धानका लागि रायपुर गएको स्रोतले जनाएको छ । धम्की दिएको आरोपमा बाईको बान्द्रा पुलिस स्टेशनमा एक अज्ञात व्यक्ति विरुद्ध धारा ३०८(४), ३५१ (३) र (४) अन्तर्गत आपराधिक मुद्दा दायर गरिएको छ ।
शाहरुख सधैं भूमिगत समूहको तारोमा छन् । यसअघि पनि उनलाई धेरै पटक ज्यान मार्ने धम्की आयो । गत अक्टोबरमा पनि पठान र जवान फिल्मको सफलतापछि उनलाई ज्यान मार्ने धम्की आएको थियो । अभिनेताले यस सम्बन्धमा महाराष्ट्र पुलिसमा लिखित उजुरी दिएका थिए । त्यसपछि उनलाई वाई प्लसको सुरक्षा दिइएको थियो ।
गत वर्ष चर्चित निर्देशक सञ्जय गुप्ताले सामाजिक सञ्जालमा ट्वीट गर्दै शाहरुखको तारिफ गरेका थिए । उनले भनेका थिए, ‘९० को दशकमा शाहरुख एक मात्र अभिनेता थिए जो अन्डरवर्ल्ड अघि झुकेनन् । उनले भने कि यदि तिमी शूट गर्न चाहन्छौ भने गोली मार, तर म तिम्रो लागि काम गर्दिन । म पठान हुँ । शाहरुख अहिले पनि उस्तै छन् ।’