काठमाडौँ, पुस २६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन र राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयमा नागरिकलाई आइडिया र सुझाव दिन खुला आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले जेन–जी आन्दोलनले ब्यूँताएको बहसलाई नीतिगत तहमा लैजान आफूले काम सुरु गरिसकेको बताए ।
हाल नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको सक्रियतामा विशेष महाधिवेशन केन्द्रित गतिविधि भइरहेको छ । उनले केही दिनअघि जेन–जी आन्दोलनले उठाएको पार्टी पुनर्गठनको मुद्दालाई राष्ट्रिय स्तरमा लैजान आइडिया आह्वान गर्दा धेरै प्रतिक्रिया आएको बताए ।
‘मैले केही दिनअगाडि जेन-जी आन्दोलनले ब्यूँताएको पार्टी पुनर्गठनको मुद्दामा राष्ट्रिय लेभलको कन्सर्न हुनुपर्छ भनेर एउटा आइडिया पोस्ट गरेको थिएँ । धेरैले मलाई आइडिया दिनुभएको छ, मैले काम गर्न पनि थालिसकेको छु,’ थापाले भने, ‘कतिपयले हामी पनि आइडिया दिन्छौं भनेर जिज्ञासा राख्नुभएको छ । तपाईंहरूका आइडिया सुन्न र सिक्न पनि मेरो मन छ ।’
थापाले पठाइने सबै सुझावहरू नोट गरिने र विशेष महाधिवेशनपछि सम्बन्धित पक्षसँग ‘रिचआउट’ गरिने बताए । ‘पठाएको आइडिया नोट गर्छु र विशेष महाधिवेशनपछि रिचआउट गर्छु । निर्वाचनअघि नै जेन-जी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न सक्छौं,’ उनले थपे ।
उनले आइडिया संकलन गर्न अनलाइन फाराम सार्वजनिक गरेका छन् । उक्त फाराममार्फत् भर्चुअल संवादका लागि केही सहभागी छनोट गरिनेछन् । फाराममार्फत प्राप्त सबै प्रतिक्रिया ध्यानपूर्वक अध्ययन गरी सुझावको सार तयार पारेर नीतिगत छलफल तथा भविष्यका कार्ययोजनाका लागि सम्बन्धित टोलीसँग साझा गरिनेछ ।
फाराममा सहभागी सबैको आवाज महत्वपूर्ण हुने उल्लेख गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











