01/08/2026, 10:11:59
बिहिबार, पुष २४, २०८२

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस र एमालेको तालमेल गरी मनोनयन दर्ता


दाङ, पुस २३ : माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा ३ बजेभित्र मनोनयन दर्ता गर्ने समय दिइएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताए ।

लुम्बिनी प्रदेशमा एक अपांगता, एक महिला र एक खुला गरी तीनवटा कलस्टरमा मनोनयन दर्ता हुन थालेको छ । जसमा कांग्रेस र एमालेले तालमेल गरी मनोनयन दर्ता गर्न थालेका छन् ।

कांग्रेसबाट अपांग कोटामा दाङका वासुदेव घिमिरे र खुला कोटामा गुल्मीका चन्द्र केसीले मनोनयन दर्ता गर्दै छन् । एमालेबाट महिला कोटामा गुल्मीकी रामकुमारी झाँक्रीले मनोनयन दर्ता गर्दैछिन् ।

नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले छुट्टाछुट्टै मनोनयन दर्ता गर्दैछन् । उनीहरूले अझै उम्मेदवार टुंगो लगाएका छैनन् ।

एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, तत्कालीन माओवादी केन्द्रका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदैछ ।

भट्टराई खुलाबाट, घिमिरे महिलाबाट र शर्मा अपाङ्गता क्लस्टरबाट सहभागी थिए । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी कुल ३०४ जना मतदाता छन् ।

– दुर्गालाल केसी