01/07/2026, 22:50:45
बुधबार, पुष २३, २०८२

सहकार्यको गृहकार्यमा कांग्रेस, एमाले र नेकपा


काठमाडौँ, पुस २२ : कांग्रेस, एमाले र नेकपाबीच राष्ट्रिय सभासँगै आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धनका लागि कसरत सुरु भएको छ । राष्ट्रिय सभाका लागि गरिने गठबन्धनलाई प्रतिनिधिसभा निर्वाचनसम्मै विस्तार गर्ने रणनीतिमा तीन दल लागेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा  र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिय सभाका रिक्त १९ मध्ये निर्वाचन हुने १८ सिटका लागि दुई दलबीच मात्रै गठबन्धन गर्ने सुरुवाती समझदारी थियो । दुई दल मिल्दा कांग्रेसले १० र एमालेले ८ सिट लिने भनिएको थियो । यसबीच देउवा र नेकपा संयोजक पुष्पकमल दाहालबीच छलफल भएपछि गठबन्धन अझै विस्तार हुने संकेत देखिएको हो ।

देउवासँग दाहालले नै संविधान निर्माणका बखत एकै ठाउँमा रहेका दलहरूबीच सहमति गरेर अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । त्यसमा देउवा तत्कालै सकारात्मक भए । स्रोतका अनुसार ओली मानिरहेका थिएनन् ।

जब एमाले अध्यक्ष ओली र दाहालबीच आइतबार व्यवसायी शारदाप्रसाद अधिकारीको ललितपुर मानभवनस्थित निवासमा गोप्य वार्ता भयो, त्यसपछि ओली पनि उक्त प्रस्तावमा सहमत भएको स्रोतको भनाइ छ । ओलीसँगको सहमतिपछि दाहाल त्यसै दिन भारत गएका थिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार संविधान निर्माणका बेला सँगै रहेका दलबीच तालमेल गर्ने मोटामोटी समझदारी भएको छ । यसबारे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जानकारी गराएको सिटौलाले बताए ।

राष्ट्रिय सभामा छुट्टाछुट्टै जाँदा जित्न सकिँदैन । अर्कोतर्फ राष्ट्रिय सभालाई सहमतिको थलो बनाउने र तत्कालीन मधेशी मोर्चामा रहेका दलहरूलाई समेत सहभागी गराएर जाने कार्यवाहक सभापतिले जानकारी गराउनुभएको छ,’ उनले भने, ‘तर, कसले कति सिट पाउने भन्नेबारे टुंगो लागेको थाहा छैन ।

कांग्रेसकै अर्का एक नेताका अनुसार शीर्ष नेताबीचको संवादमा राष्ट्रिय सभाको सिट संख्या समेत टुंगो लागिसकेको छ । कुन प्रदेशमा कुन दलले कति सिट पाउने र कुल क्लस्टर लिने भन्नेबारे टुंगो लाग्न बाँकी छ । कांग्रेसले ७, एमालेले ६, नेकपाले ३ र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने जसपा नेपाल र लोसपाले १–१ सिट पाउने सम्भावना छ ।

तर, कुन प्रदेशमा कुन क्लस्टरको सिट लिने भन्ने टुंगो नलागेकै कारण उम्मेदवार छनोटका लागि कांग्रेसले राखेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । ‘कसले कहाँ–कहाँ र कुन समूहको पाउने टुंगो नभएकाले उम्मेदवार छनोट हुन सकेन । त्यसैले अब नेताहरूलाई नै मिलाउनुहोस् भनेर बैठक अन्त्य भएको छ,’ कांग्रेसका सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायरले भने ।

११ माघको राष्ट्रिय सभा निर्वाचनमा हुने यो गठबन्धनले पुराना प्रमुख तीन दलबीच २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महागठजोड गर्ने सूत्राधारसमेत बनेको दाबी नेताहरूले गरेका छन् । आन्तरिक असन्तुष्टिको जोखिम रहेकाले गठबन्धनको विषयलाई तीनै दलले संस्थागत छलफलमा ल्याउन चाहेका छैनन् ।

तर भित्रभित्रै केही अपवाद क्षेत्रबाहेक कांग्रेस, एमाले र तत्कालीन माओवादीले जहाँ–जहाँ जितेका छन्, तिनमा यथावत् कायम राखेर गठबन्धन गर्ने नीति बनाइएको छ,’ स्रोतले भन्यो । कांग्रेस, एमाले र माओवादीबीच मधेश प्रदेश सरकारमा सहकार्य हुँदै आएको छ ।

यस्तै, ओली–दाहालबीच संवाद भएको शारदाप्रसादको त्यही घर हो, जसले २०७४ को निर्वाचनअघि एमाले र तत्कालीन माओवादीबीचको सहकार्यलाई जन्म दिएको थियो । अहिलेको भेटघाटलाई २१ फागुनको निर्वाचनमा सम्भावित गठबन्धनलाई जोडेर हेरिएको छ ।

अधिकारीको घरमा शृंखलाबद्ध वार्ताबाट एमाले र माओवादीबीच २०७४ को निर्वाचनमा सहकार्य गर्ने सहमतिमा पुगेका थिए । शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारी आफूले लिएको ठेक्का समयमै नसकेर विवादमा पर्दै आएका ठेकेदार हुन् ।

०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी १७४ सिट जितेको थियो । दुई दलबीच जेठ २०७५ मा एकता गर्ने सहमति अधिकारीको त्यही घरमा भएको थियो । तर, ओली प्रधानमन्त्री भएपछि दुई नेताबीच शक्ति संघर्ष सुरु भएको थियो ।

सर्वोच्च अदालतले नेकपासम्बन्धी निवेदनमा सुनुवाइ गर्दै एमाले र माओवादीलाई अलग गरिदिएपछि उनीहरू विभाजित भएका थिए । २०७९ को निर्वाचनपछि फेरि ओली र दाहालबीच सहकार्य भयो । त्यतिबेला एमालेको समर्थनमा दाहाल प्रधानमन्त्री भए । २०७९ पुसमा भएको यो सत्ता गठबन्धन दुई महिनापछि फागुनमै भत्किएको थियो ।

राष्ट्रपति कसलाई बनाउने विषयमा कुरा नमिलेपछि दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य गरेका थिए । २०८० असारमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य सुरु भएपछि दाहाल सरकार ढलेको थियो । त्यसपछि ओली र दाहालबीच तिक्तता बढ्दै गयो । जेन–जी आन्दोलनपछि यी दुई नेताबीच सम्बन्ध सुधार हुन सकेको थिएन ।

अधिकारीको घरमा आइतबार ओली र दाहालबीच करिब आधा घण्टा संवादसँगै यी नेताबीच सम्बन्ध सुधारको संकेत देखिएको छ । त्यसअघि १९ मंसिर र ७ पुसमा देउवालाई भेट्दै ओलीले सहकार्यबारे छलफल गरेका थिए । १७ असार २०८१ मा कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री भएका एमाले अध्यक्ष ओलीले तत्कालीन सातबुँदे सहमतिबाट एमाले पछि नहटेको भन्दै चुनावमा सहकार्य गर्न देउवालाई प्रस्ताव गरेका थिए ।

नेकपा नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियता र सम्भावित सहकार्यबारे एमाले र कांग्रेससँग छुट्टाछुट्टै छलफल भइरहेको बताए । ‘त्यस्तो ठोस निर्णय भइसकेको छैन,’ उनले भने, ‘देशको समग्र परिस्थितिबारे कुरा भएको हो । अहिले राष्ट्रियता खतरामा छ । त्यसैले कसरी सहकार्य गर्ने भन्ने विषय पनि प्रमुख छ ।

उनले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउने विषयमा संयोजक दाहालले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री सुशीला कार्कीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको बताए ।

– गंगा बीसी, कुलचन्द्र न्यौपाने