काठमाडौं, पुस ७ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई परिवर्तनको उत्सवका रूपमा लिन राजनीतिक दलका नेताहरूसँग आग्रह गर्नु भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी कानुन तथा व्यवस्थापनका विषयमा सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा सोमबार प्रधानमन्त्रीले यस्तो आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्री कार्कीले छलफलमा सहभागी अधिकांशको साझा निष्कर्ष निर्वाचन हुनुपर्छ भन्ने रहेको बताउनुभयो । “एक–दुई दलबाट अदालतमा मुद्दा विचाराधीन रहेको विषय उठे पनि निर्वाचन हुनुहुँदैन भन्ने कुनै धारणा आएको छैन,” उहाँले भन्नुभयो । निर्वाचनतर्फ सबै पक्ष सक्रिय देखिनु सकारात्मक रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री कार्कीले वर्तमान परिस्थिति कसैले चाहेर वा योजनाबद्ध रूपमा सिर्जना नभएको स्पष्ट पार्नुभयो । भदौ २३ र २४ गते घटेका अप्रत्याशित र कहालीलाग्दो घटनापछि समाज र राष्ट्रले परिवर्तनको आवश्यकता महसुस गरेको उहाँको भनाइ थियो ।
“त्यसपछि नयाँ युवा शक्तिहरू अगाडि आएका छन् । युवालाई अग्रपंक्तिमा ल्याउने र राज्य सञ्चालनका हरेक क्षेत्रमा अवसर दिने चुनौती सबैका सामु छ,” उहाँले भन्नुभयो । जेन–जीले उठाएका दुई–तीन प्रमुख प्रश्न समाधान गर्नुपर्ने विषयमा सबैको सहमति रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले युवापुस्ताका मागप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । निर्वाचनको समयसीमा छ महिनाभित्र गर्नुपर्ने संवैधानिक बाध्यताका कारण निर्वाचन घोषणा गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई संकट होइन, उत्सव र परिवर्तनको मार्गका रूपमा लिन आग्रह गर्नुभयो । “नेपालमा परिवर्तन निर्वाचनमार्फत पनि आएको छ । विद्रोहले पनि परिवर्तन ल्याउँछ, तर निर्वाचनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण र प्रणाली सुधार गर्छ,” उहाँले भन्नुभयो । उहाँले राजनीतिक दलहरूलाई आन्तरिक असमझदारीको नकारात्मक असर जनतामाथि नपार्न आग्रह गर्नुभयो । “देशको सर्वेसर्वा जनता हुन् । जनताको भावना र चाहना नै मूल कुरा हो,” उहाँले भन्नुभयो । लोकतन्त्रमा जनताले दल रोज्ने अधिकार राख्ने उल्लेख गर्दै उहाँले दलहरू जनताको सेवाका लागि भएको स्मरण गराउनुभयो ।
भदौको आन्दोलनका क्रममा भएको हिंसा र त्यसले पारेको मनोवैज्ञानिक असर अझै समाजमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले परिवर्तन किन र कसका लागि भन्ने प्रश्नमा गम्भीर सोच आवश्यक रहेको बताउनुभयो । “जनताले परिवर्तन खोजेका छन् भने राजनीतिक दलले पनि सच्चिनुपर्छ,” उहाँको भनाइ थियो । शान्तिको सन्दर्भमा प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दल एकताबद्ध भए हिंसा र अराजकता रोक्न सकिने बताउनुभयो । “११४ वटा राजनीतिक दल छन् । कसैले पनि खराब तत्वलाई प्रश्रय नदिए यहाँ कसैको केही चल्दैन,” उहाँले भन्नुभयो ।
प्रधानमन्त्री कार्कीले सरकार आलोचनाका लागि तयार रहेको उल्लेख गर्दै त्यसलाई मुलुककै हितका लागि स्वीकार गरेको बताउनुभयो । “राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो,” उहाँले भन्नुभयो । छलफलमा सहभागी सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गर्नुभयो । बाँकी दुई–अढाई महिनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै घण्टा-घण्टामा काम भइरहेको भन्दै उहाँले शंका नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उपस्थित राजनीतिक दल, नागरिक समाज, पत्रकार र कर्मचारीहरूलाई मुलुकको उन्नति र विकासका लागि सहयोग गर्न आग्रह गर्दै प्रधानमन्त्री कार्कीले समापन मन्तव्य दिनुभएको थियो । कार्यक्रममा गृह मन्त्रालय र निर्वाचन आयोगले प्रारम्भिक प्रस्तुति दिएका थिए । त्यसपछि आठ जना नागरिक समाजका अगुवा, १४ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा दुई जना जेन–जी प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











