12/19/2025, 15:27:14
शुक्रबार, पुष ०४, २०८२

लागुपदार्थ सेवन गरी सवारी चलाउने नौ चालक पक्राउ


वालिङ (स्याङ्जा), पुस ४ गते । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन नौ जना चालकलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा लागु पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका–१ बसपार्क स्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा नीजि तथा सार्वजनिक सवारी साधनका चालकहरूलाई लागुऔषध सेवन गरे नगरेको चेकजाँच गरेको थियो ।

सडक दुर्घटना न्यूनीकरण एवम् यात्रालाई थप सुरक्षित, म¥यादित र भरपर्दो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गएको जेठ ६ गतेबाट ‘ला.प.से. चेकिङ अभियान’ सुरु गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो ।

पक्राउ परेका चालकहरुलाई लागुऔषध सेवन मुद्दामा स्याङ्जा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप अनुमती लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

blog

प्रहरीले पक्राउ गरेका चालकहरुमा म.प्र.०३–००२ ख. ४१०१ नं. को ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का २७ वर्षीय अक्षय कुमार चौधरी, ग.१ ख. ५५५५ नं.को हाईस चालक जिल्ला स्याङ्जाको चापाकोट नगरपालिका–४ का ४१ वर्षीय याम बहादुर गुरुङ, ग. २४ प. ३१० नम्बरको क्रसफायर मोटरसारइकल चालक वालिङ–१० का १९ वर्षीय को लिजन थापा, लु. ९२ प. ८४२५ नं. को पल्सर मोटरसाइकल चालक गल्याङ–८ का १९ वर्षीय अभिषेक सारु,ग. २० प. १९९ नं. को केटिएम मोटरसाइकल चालक वालिङ–६ का २१ वर्षीय सुमन अर्याल, ग. १६ प. ९०४३ नं.को पल्सर मोटरसाइकल चालक भिरकोट–१ का २३ वर्षीय सुविन गुरुङ, लु. ९४ प. ५८३३ नं. को यामाहा मोटरसाइकल चालक कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ का २३ वर्षीय सोवित कुमार गुप्ता,लु.प्र.०१–०११ प २२३३ नं. को पल्सर मोटरसाईकल चालक कपिलवस्तुको कृष्णनगर–८ का २३ वर्षीय बिबेक कुमार चौधरी र ना. ४५ प. २०५ नं. को स्कूटर चालक चापाकोट–८ का २८ वर्षीय राजिन नेपाली रहेका छन् ।

– राधाकृष्ण डुम्रे