बेनी (म्याग्दी), मङ्सिर २४ : साँझपख गुर्जा हिमालबाट घामको किरण अस्ताउन थालेसँगै चिसो बढेको थियो । साँझपख गोठ फर्किंदै गरेका भेडाबाख्रा र गाईगोरुका हुलले गाउँको परिवेशलाई रमणीय बनाएको थियो । दिनभर चरनका लागि जङ्गल गएका भेडाबाख्रा साँझ परेपछि गोठ फर्किने क्रममा देखिने दृश्यले गुर्जालीको परिश्रम र मौलिक जीवनशैलीलाई झल्काइरहेको थियो ।
कोही बारीमा मकैका ढोड बालेर आगो तापिरहेका देखिन्थे । काममा गएका प्नि घर फर्किंदै थिए । यस्ता दृश्यले गाउँको मौलिक जीवनशैली र मेहनती संस्कृतिलाई झल्काउँछ । हिमालको काख, प्रकृति र मौलिकताको यही तालमेल म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जाको पहिचान बनेको छ । गुर्जाको पुरानो जीवनशैली र खेतीबाली लगाउने संस्कार र संस्कृति अझै जीवितै छ ।

छन्त्याल र विश्वकर्मा जातिको बसोबास रहेको गुर्जामा अहिले पनि पशुपालन र कृषि खेती गर्ने मौलिक संस्कृति जीवित रहेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “गुर्जामा परम्परागत कृषि प्रणाली छ । पशुपालन र कृषि यहाँको मुख्य आम्दानीको स्रोत हो । बाउबाजेले अँगालेको संस्कृति जीवितै छ । परम्परागत रहनसहन र संस्कृतिको अध्ययन गर्ने थलो गुर्जागाउँ बनेको छ ।”
परम्परागत मौलिक संस्कृति र जीवनशैलीलाई भावी पुस्ताले पनि सिको गर्न सकेमा गुर्जाको वास्तविक पहिचान संरक्षण हुने ६७ वर्षीय गोरे छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ पुस्ता शिक्षा, रोजगारी र व्यवसाय गर्न सहरबजार झरेका छन् । उनीहरूले यहाँको मौलिक जीवनशैली भुलिसकेका छन् । भविष्यमा गाउँ फर्किएर यहाँको संस्कृति, जीवनशैली, रहनसहन र संस्कारलाई आत्मसात् गरिदिए हुने थियो ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














