नारायणगढ मङ्सिर ७ : पर्यटकिय नगरी सौराहा आउने पर्यटकलाई लक्षित गरी राप्ती नदीमा नौका विहारका लागि नयाँ रुट सञ्चालनमा ल्याइएको छ । निकुञ्जको पूर्वि क्षेत्रमा पर्ने जीन्दागानी घाटदेखि भिमपुर घाटसम्मको राप्ती नदीमा नयाँ रुट सञ्चालनमा ल्याइएको हो ।
सौराहामा रहेको किनार रेष्टुरेन्ट एण्ड वारले सो नौका विहार सञ्चालनमा ल्याएको हो । बारका सञ्चालक वासु ढुङ्गनाले चितवन राष्ट्रिय निकुञ्जले आह्वान गरेको ठेक्कामा आफूहरुले स्विकार गरेर नौका विहार सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
“एकातिर निकुञ्ज अर्कातर्फ कुमरोज माध्यवर्ती सामुदायिक वनको घनघोर वन क्षेत्र यसको विचमा शान्त रुपमा बगेको विशाल राप्ती नदीमा नौका विहार गर्नुको आनन्द नै अतभूत हुन्छ”, ढुङ्गनाले भन्नुभयो । यो करिव पाँच किलो मिटर दूरीको छ भने यहाँ नौका विहार गर्न एक घण्टा समय लाग्छ । यो क्षेत्र सौराहाभन्दा करिव १० किलो मिटर पूर्वमा पर्छ । नौका विहारका लागि यो क्षेत्र पुग्न कुमरोज मध्यवर्ती वन पार गरेर जानुपर्छ । यहाँ जादा र आउदा जङ्गल सफारीको समेत आनन्द लिन सकिने उहाँले जनाउनुभयो ।

“वनमा रहेका बाघ गैँडा जस्ता जनावरहरु हेदै राप्ती नदीको किनार पुग्ने हो । यहाँबाट पनि विभिन्न जलचरहरु र वन्यजन्तुहरु अवलोकन गर्दै जल सफारी गर्ने हो”, उहाँले थप्नुभयो, “यो नौका विहारमा अन्य स्थानमा भन्दा जङ्गल सफारी जोडिएकाले थप आनन्द महशुष गर्न सकिन्छ ।”
यो नौका विहार गराइने क्षेत्र निकुञ्जबाट मानव वस्ति हटाइएको पदमपुर क्षेत्र पनि पर्दछ । यो क्रममा यहाँको इतिहास समेत पर्यटकहरुलाई जानकारी दिन सकिने बताइन्छ । यो क्षेत्रबाट वस्ति सारेर नयाँ पदमपुर स्थानान्तरण गरिएको हो । यो स्थानान्तरणलाई नेपालको इतिहासमा सिङ्गो बस्ति स्तानान्तरणको सफल योजनामा पर्छ । यो क्षेत्रमा अहिले १० वटा डुङ्गा सञ्चालनमा ल्याइएको छ । एउटा डुङ्गामा १० जना पर्यटक यात्रा गर्न सकिने भएकाले एक लटमा सय जनासम्म र यो दिनमा दुई लट सञ्चालनमा ल्याइएको पनि जनाइएको छ ।

सौराहामा अहिले वार्षिक दुई लाखका हाराहारीमा पर्यटकहरु आउने गर्दछन् । यसरी आउने मध्ये ७० प्रतिशतले नौका विहार गर्ने गर्दछन् । यस अघि सौराहामा राप्ती नदीमै सौराहावाट दुधौरा घाटसम्म, बुढी राप्ती नदीमा बागमारादेखि खोरसोरसम्म र ढुँग्रे खोलामा जनकौलीदेखि सौराहा हात्ती सारसम्म नौका विहार गराउने गरिन्छ । सौराहासँगै चितवन राष्ट्रिय निकुञ्ज भएर वहने बिभिन्न नदीका नौ स्थानमा जल विहार गराउने गरिन्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त जीन्दागानी घाटदेखि भिमपुर घाटसम्मको नौका विहार क्षेत्रलाई नयाँ क्षेत्रभन्दा पनि सुन्दर र राम्रो क्षेत्र मान्न सकिने बताउनुहुन्छ ।

“यो क्षेत्रमा नौका विहारका लागि हामीले अघिल्ला वर्षहरुदेखि नै ठेक्का आह्वान गरेका हौँ । अहिलेसम्म कसैले पनि सञ्चालन गर्न ईच्छा प्रकट गर्नुभएको थिएन । यो वर्षदेखि सञ्चालनमा आएको छ”, उहाँले भन्नुभयो । निकुञ्ज भएर बहने विभिन्न क्षेत्रहरुमा अझै धेरै स्थानमा जल विहारको सम्भावना रहेको पनि उहाँले जनाउनुभयो । यहाँ जल विहारका लागि विदेशीले दुई हजार रुपियाँ निकुञ्ज प्रवेश पत्र लिनुपर्छ । यो सार्कका हकमा एक हजार र नेपालीका हकमा १५० रुपियाँ रहेको छ । यो शुल्कमा पर्यटकले डुङ्गा यात्रा गर्न थप पाँच सय रुपियाँ डुङ्गा भाडा तिर्नुपर्छ ।
– वसन्त पराजुली
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














