11/22/2025, 18:11:01
शनिबार, मङि्सर ०६, २०८२

शैलुङ हिमाल चियाउने दैलो


माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई

कवि श्रवण मुकारुङ र शैलुङ लेकलाई यही गीतले एकै पटक ख्याति कमाइदियो । शैलुङको प्रसिद्धिमा यो गीत ‘ब्रान्ड’ बनेको छ । त्यसैले त घुमन्तेका लागि शैलुङ बनेको छ– गन्तव्य । शैलुङ टेक्ने प्रायःले उही गीत गुन्गुनाएकै हुन्छन्– माथि माथि शैलुङ्गेमा…। रामेछाप र दोलखाको सीमा क्षेत्रको यो लेक प्राकृतिक सौन्दर्यले मात्र होइन; बोन संस्कृति, बौद्ध धर्म, जैविक विविधता र धार्मिक सहिष्णुताको केन्द्र पनि हो । साहित्य सिर्जनामा विम्बको प्रतीक पनि हो । त्यसैले त कैयौँ कवि, गीतकार, निबन्धकार, कलाकारले शैलुङलाई विम्बमा उतारेर काव्य–कला सिर्जना गरेको पाइन्छ । स्वादका पारखीका लागि शैलुङको आलु, चौँरीको छुर्पी र घिउ प्रख्यात छ ।

शैलुङमा पर्यटकीय आकर्षण बढ्दै गएपछि सीमा स्वार्थ पनि गाँजिन थालेको छ । तथापि, शैलुङ क्षेत्रको पर्यटकीय विकास र त्यसको प्रतिफल प्राप्तिमा समान धारणा र सहभागिता दुवै जिल्लाले बनाएको पाइन्छ । दोलखा र रामेछापका सीमावर्ती क्षेत्रमा पर्ने शैलुङको विकासमा शैलुङ गाउँपालिका (दोलखा) र दोरम्बा शैलुङ गाउँपालिका (रामेछाप) बिच उत्तिकै प्रतिस्पर्धा पनि छ । दोलखातर्फ कालापानीसम्म र रामेछापतर्फबाट खोलाखर्कसम्म मात्र सडक पु¥याइएको छ । त्यहाँबाट पैदल जान पुराना पैदलमार्गमा सिँढी राख्ने कार्य अघि बढाएको पाइन्छ । त्यही सिँढी हिँडेर शैलुङका थुम्काहरूमा रमाउन सकिन्छ ।

सयलुङ–सेलयुङ–शैलुङ

दोलखाका साबिकका ताम्चेन दुधपोखरी, भुसाफेदा, काटाकुटी, शैलुङ्गेश्वरी, मागापौवा र फस्कु गाउँ विकास समिति समेटेर शैलुङ गाउँपालिका नामकरण गरिएको हो । साबिकका यिनै गाविस समेटेर शैलुङमा आठ वडा बनाइएका छन् ।

त्यस्तै रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकालाई शैलुङको अपनत्व लिने गरी नाममा शैलुङ थपेर दोरम्बा शैलुङ गाउँपालिका बनाइएको छ । दोलखा र रामेछापका यी दुई गाउँपालिकाले शैलुङ पर्यटन प्रवर्धनका लागि स्थानीयस्तरमा प्रयास अघि बढाएको पाइन्छ ।

शैलुङ लेकको नामकरणबारे भिन्न भिन्न किंवदन्ती पाइन्छ । शैलुङ लेकमा सय वटा थुम्का रहेकाले यसको नाम सयलुङ अर्थात् शैलुङ भएको जनश्रुति ज्यादै प्रचलनमा छ ।

लेखक लामा टी. ग्याछनका अनुसार हिमाली भाषामा थुमलाई ‘लुङ’ भनिन्छ अथवा ठुलो पर्वतको वरपरका पर्वतमालाहरू । ‘लुङ’ (जोडिएको पर्वत) का नामहरू नेपालमा प्रशस्त छन् । अर्को जनश्रुति पनि छ, सेलयुङ गाङ अर्थात् दर्शनढुङ्गे डाँडा । त्यस लेकको फेदीमा मेलुङ भन्ने ठाउँ पनि रहेको छ । यहाँ दर्शनढुङ्गा पनि पाइन्छ । यस हिसाबले दर्शनढुङ्गो पाइने डाँडाका रूपमा सेलयुङ गाङ नै अपभ्रंश भएर सयलुङ हुँदै शैलुङ भएको हुन सक्ने तर्क लामा टी. ग्याछनको छ ।

शैलुङवरिपरिको प्राकृतिक भूबनोटलाई अथ्र्याउँदै ‘सायि लुङ’ अर्थात् भूशृङ्खला वा भूमि साङ्लाका रूपमा पनि भनिएको हुन सक्ने तर्क अघि सारिएको पनि पाइन्छ । लामा टी. ग्याछनका अनुसार धार्मिक दृष्टिबाट यस पर्वतलाई से (बोन सङ्केत ध्वनिको अर्थमा देवता) र लुङ (आगम) बोली हुन् । यो अर्थमा देवागम पर्वत पनि भनिएको छ । बोन भाषामा सैखार (देवगढ÷देउराली) र सैखाङ (देवालय) हुन् । शैलुङ देववाणीको अर्थमा पनि प्रयोग भएको पाइन्छ ।

शैलुङलाई विभिन्न कोणबाट अथ्र्याउने र खोज्ने प्रयास भई नै रहेका छन् । नामकरणका सन्दर्भमा बोन धर्म संस्कृति, भाषा, बौद्ध र हिन्दु धर्मावलम्बीको विश्वास, प्राकृतिक सौन्दर्य, जैविक विविधता जस्ता अनेक कोणबाट व्याख्या र विश्लेषण भई नै रहेका छन् यद्यपि मुख्य विषय शैलुङको सभ्यता, संस्कृति, परम्परा, विश्वास, विविधता, सौन्दर्य र त्यसका आधारमा पर्यटनको दिगो विकास नै सबैको चासो रहनु आवश्यक छ ।

शैलुङको उत्तरतिर शैलुङ्गेश्वर (कामेश्वर) महादेव गुफा रहेको छ । यहाँ बोन, बौद्ध र शैवको साझा आस्थाका रूपमा विकास भइरहेको छ । शैलुङमा सातौँ शताब्दीमै गुरु पद्मसम्भवले पाइला राखेको बौद्ध धर्मावलम्बीको विश्वास छ । प्राकृत बोनहरू यो पर्वत (सेललुङ) लाई नै देवताको प्रतीकका रूपमा मान्दछन् ।

लेखक रवीन्द्र तामाङका अनुसार शैलुङ्गेश्वर महादेवस्थानमा जनैपूर्णिमा र बालाचतुर्दशीका दिन भव्य मेला लाग्छ । मेलामा झाँव्रmीहरू ढ्याङ्ग्रोसहित दर्शन गर्न आउँछन् । यहाँका दुई वटा गुफामध्ये एउटा ओडारमा रहेको धर्मद्वार निकै प्रसिद्ध छ । १२ वर्षमा लाग्ने गोदावरी मेला पनि शैलुङ क्षेत्रको उल्लेखनीय मेला हो । यस मेलामा गोदावरी फूल ढकमक्क फुल्ने गर्छ ।

लेखक रवीन्द्रका अनुसार शैलुङमा अनेक आकृतिका चट्टान छन् । डाँडामा रहेको चट्टान एउटा बाघ र अर्को गाई आकृतिको छ; जसलाई बाघढुङ्गा र गाईढुङ्गा भनिन्छ । बाघढुङ्गे डाँडाको बिचमा पृथ्वीको नाइटो भनिने एउटा ढुङ्गा पनि छ । यसको नजिकै एउटा पाइला छ; जसलाई हिन्दु धर्मावलम्बीले महादेवको, बौद्ध धर्मावलम्बीले गुरु रिम्पोछे (पद्मसम्भव) र बोन झाँव्रmी धर्मावलम्बीले गुरु सेरबले टेकेको विश्वास गर्छन् ।

शैलुङ पुग्ने मार्ग

समुद्री सतहबाट तीन हजार १४६ मिटर अग्लो शैलुङमा क्याम्पिङ गर्न पनि सकिन्छ । हाइकिङ, राइडिङ, साइक्लिङ गरी समेत शैलुङ घुम्न सकिन्छ । घोडचढीमा रुचि हुँदा त्यो पनि सुविधा त्यहाँ पाइन्छ । काठमाडौँबाट धुलिखेल–दोलालघाट–खाडीचौर भएर १२२ किलोमिटर दुरीमा शैलुङ पुगिन्छ । खाडीचौरबाट मुढे २७ किलोमिटर उकालो पर्छ । चरीकोटबाट मुढे आउनसमेत उत्ति नै पर्छ । मुढेबाट दाहिने लाग्दा मुढे–बाघखोर–ढुङ्गे सडक हुँदै कालापानी पुग्न सकिन्छ । करिब १९ किलोमिटरको सो सडकमा करिब नौ किलोमिटर कालोपत्रे छ । अन्य सडकको स्तरोन्नति कार्य हुँदै गरेको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

कालापानीमा बसोबासका लागि होटेलको व्यवस्था पनि छन् । त्यहाँबाट करिब ४.५ किलोमिटर पैदल यात्रापछि शैलुङको सौन्दर्य स्वाद अनुभूति गर्न सकिन्छ । तराईबाट आउनेका लागि रामेछाप जिल्लाको मन्थली सदरमुकाम घुमेर माकादुम हुँदै खाँडादेवीको दर्शन गरी दक्षिणी मोहोडाबाट समेत शैलुङ उक्लन सकिन्छ । त्यसो त बिपी राजमार्ग भएर मूलकोट–सित्खा हुँदै गोगनपानी–गाल्पा–अग्लेश्वरी–दोरम्बा भएर खोलाखर्क छिचोल्दै शैलुङ पुग्न सकिन्छ ।

दुम्जाको खैरेनीघाट, सुनापति गाउँपालिका (रामेछाप) को लुभु र दोभानटारबाट समेत शैलुङ पुग्ने कच्ची सडक र पैदलमार्ग छन् । दोभानटारबाट डहु–बेथानडाँडा–सुनापति लहरे माने–लखपति माने भएर गाल्पा हुँदै अग्लेश्वरी–दोरम्बा–राजभिर भएर खोलाखर्क पुग्न सकिन्छ । दक्षिणतर्फबाट शैलुङ जान खोलाखर्कका होटेलमा बास बस्न सकिन्छ । काभ्रेपलाञ्चोक जिल्लाको तिमालको पर्सेल भएर पनि शैलुङ जाने पर्यटकीय पदमार्ग चल्तीमा छ । सुनकोशी नदी तरी दोभानटार निक्लेर पदमार्ग पछ्याउँदै शैलुङ जाने पदमार्ग छ ।

खानीखोलाको छेउ छेउ भएर रजमनटारबाट टोकरपुर भएर पनि शैलुङ जाने बाटो छ । यो बाटो भने अलि उकालो पर्ने सुनकोसी सुनापति लहरेमाने पर्यटकीय संरक्षण क्षेत्रका अध्यक्ष राजकुमार मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार दुम्जाको खैरेनीघाट तरेर राकाथुम–गोठपानी भएर खाँडादेवी भन्ज्याङ निक्ली गाल्पा भएर शैलुङतिर जान सकिन्छ । भन्ज्याङबाट खाँडादेवी मन्दिर पुग्न त्यस्तै चार किलोमिटर जति पर्छ । त्यस्तै सुनापतिको लुभु–खनियाँपानी–कटुन्जे–सुनापति–लहरेमाने भएरसमेत शैलुङ जान सकिन्छ ।

अध्यक्ष मैनालीका अनुसार सबैतिर कच्ची सडकको पहुँच पुगेकाले शैलुङ पुग्ने थुप्रै बाटो प्रयोगमा छ । ट्राभल टुर एजेन्सीहरूले दोलखा, चरीकोट, कालिञ्चोक, शैलुङ घुमाउने प्याकेजसमेत बेचिरहेका छन् ।

प्रवर्धनका प्रयास

उँभो शैलुङ लेकैमा, लालीगुराँस फूल फुल्यो
मैच्याङको जिउडाल देख्दैमा, अल्लारे च्याङ्बाको मन भुल्यो
(शब्द ः इन्द्रराम मोक्तान, सङ्गीत ः शशिकला मोक्तान, स्वर ः चन्द्रकुमार दोङ र शशिकला मोक्तान)

शैलुङको निःशुल्क प्रवर्धन श्रवण मुकारुङको माथि माथि शैलुङ्गेमा… भन्ने गीतभन्दा बढी त कसले ग¥यो होला र ? तर सेलोमा जति शैलुङ अरू केमा घन्कियो होला र ? थुप्रै कलाकारले तामाङ सेलोका लयमा शैलुङ गाएका छन् तथापि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि शैलुङको व्यवस्थित प्रवर्धनका कार्यव्रmम अघि सारिएका हुन् । त्यसै अनुरूप शैलुङ क्षेत्रको विकासका लागि सडक पूर्वाधार, खानेपानी, घरबास, कृषिलगायत क्षेत्रमा काम हुँदै आएको पाइन्छ ।

प्रवर्धनकै लागि २०७६ वैशाख १३–१५ मा पहिलो पटक खोलाखर्कमा शैलुङ महोत्सव आयोजना गरिएको थियो । त्यस्तै २०७८ फागुन २०–२१ मा ‘शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव’ आयोजना गरिएको थियो ।

सुनापति शैलुङ अल्ट्रा म्याराथन दौड समितिले तीन वर्षदेखि शैलुङ अल्ट्रा रेस सञ्चालन गर्दै आएको छ । महिला पुरुष खुला ५५ किलोमिटर र पाँच किलोमिटर दौडमा विश्वभरका दौडप्रेमी सहभागी हुन्छन् । सुनापति गाउँपालिका–३, साँदीडाँडाबाट सुरु भई सुनापतिडाँडा, लहरे माने, भागेडाँडा, खाँडादेवी मन्दिर, गाल्पाभन्ज्याङ, अग्लेश्वरडाँडा, दोरम्बा बजार, सहिदपार्क, डाँडा कटेरी, घलेडाँडा, दोरम्बा शैलुङ हुँदै वडा नम्बर १ शैलुङमा पुगेर सम्पन्न हुन्छ । यस दौडमा रामेछापका खाँडादेवी, सुनापति र दोरम्बा शैलुङ गाउँपालिकाको सहभागिता र सहयोग रहँदै आएको छ ।

दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले शैलुङको प्राकृतिक सौन्दर्य र सांस्कृतिक तथा जैविक विविधतालाई नखलबल्याई दिगो पर्यटन विकासमा सबैको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारले त्यस क्षेत्रको कृषि प्रवर्धन, सम्पदा संरक्षण, पदमार्ग विकास, घरबासको व्यवस्था, कच्ची सडकको स्तरोन्नति जस्ता कार्य गरिरहेको छ ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले शैलुङको पर्यटन प्रवर्धनले प्रत्यक्ष लाभ आफ्नो गाउँपालिकाले नपाए पनि खाँडादेवीसमेत समेटेर शैलुङ क्षेत्रको प्रवर्धन गर्न सकिने सम्भावना रहेको बताउनुभयो । शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले शैलुङसम्मको सडक पहुँचमा सुधार गरिएको र यसले पर्यटक आवागमनका साथै कृषि उत्पादनलाई बजारसम्म लैजान सहज भएको बताउनुभयो । उहाँले शैलुङ आउने पर्यटकको बासका लागि होटेल र लजको व्यवस्था, कालापानीबाट शैलुङसम्म पुग्ने पैदलमार्गमा सिँढी बनाउने कार्य अघि बढेको बताउनुभयो ।

शैलुङ्गे लेकमा ऐँसेलु पाक्यो जुरेली करायो
सुसेली हाली च्याङ्बाले मलाई डाँडामा बोलायो
टुङ्ना डम्फु बजाउँदै
सेलोमा गाउँदै च्याङ्बाले डिङडिङ नाडिङ नचाउँदै

(शब्द ः कुमार सुब्बा, सङ्गीत ः शिलाबहादुर मोक्तान, स्वर ः सुवानी मोक्तान)

शैलुङको पर्यटनमा दशकदेखि सव्रिmय दावा स्याङ्मा शेर्पाका अनुसार शैलुङमा सबै मौसमको बेग्लाबेग्लै महŒव छ । सबै मौसममा शैलुङ घुम्न र फरक अनुभूति बटुल्न सकिन्छ ।

दोरम्बा शैलुङ गाउँपालिका–३ को खोलाखर्कका १० घरमा घरबासको व्यवस्था गरिएको छ । खोलाखर्कवरपर चौँरीगोठ छन् । ती ठाउँमा चौँरीगोठ हेर्ने, चौँरीको दुध, छुर्पीको स्वाद चाख्न पाइन्छ । शैलुङको आलुको परिकार नचाख्ने कुरै भएन । घोडाको यात्रा पनि यहाँको अर्को रोचक अनुभव हुन सक्छ ।

व्यवसायी दावा स्याङ्माका अनुसार शैलुङबाट धवलागिरिदेखिका हिमाल अवलोकन गर्न सकिन्छ । पूर्वको कञ्चनजङ्घा मात्र देखिन्न । आठ हजारभन्दा बढी उचाइका विश्वका १४ हिमालमध्ये १२ वटा हिमाल शैलुङबाट देखिने दाबी उहाँको छ । उहाँका अनुसार कात्तिक–पुसको मौसममा सूर्योदय हेर्न शैलुङ निकै रोचक हुन्छ । असोज अन्तिमदेखि पुसको पहिलो हप्तासम्म शैलुङका थुम्काहरू धानको थुप्रो जस्तो देखिन्छ । पुस–फागुनको समय हिउँमा रमाउनेका लागि शैलुङ उपयुक्त गन्तव्य हुन्छ । फागुन–वैशाखमा चिमाल र लालीगुराँसको सौन्दर्यमा रमाउन पाइन्छ । नेपालमा पाइने ३४ प्रजातिका गुराँसमध्ये शैलुङ क्षेत्रमा १८ प्रजातिका गुराँस पाइने जानकारी शेर्पाले दिनुभयो ।

त्यस्तै जेठ दोस्रो हप्तादेखि असोज पहिलो हप्तामा फूल, वनस्पति अध्ययन, अनुसन्धान गर्नेका लागि उपयुक्त गन्तव्य शैलुङ हुने गर्छ । यो मौसम हरियालीमा रमाउनेका लागि निकै उपयुक्त हुने गर्छ । यसै मौसममा सुनाखरी प्रशस्तै फुल्छन् । शैलुङका थुम्काहरू भुइँफूलले पहेँलै हुन्छन् ।

– दीपक श्रेष्ठ