काठमाडौँ, कात्तिक २५ : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गर्नुभएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले उहाँले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रगति विवरण माग गर्नुभएको हो।
निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गर्नुभएको थियो। उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्य सचिव हुनुहुन्छ।

सचिव मैनालीले यसबिचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको बताउनुभयो। उहाँले आजै समितिको पहिलो बैठक बस्ने जानकारी गराउनुभयो। प्रधानमन्त्री कार्कीले ढिलो नगरी खुला प्रतिस्पर्धाका लागि दर्खास्त आह्वानको सूचना प्रकाशित गर्न निर्देशन दिनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












