11/07/2025, 16:53:55
शुक्रबार, कार्तिक २२, २०८२

जय बागेश्वरीमा बालेनले गरे ब्रह्माको मन्दिर उद्घाटन


काठमाडौँ, कात्तिक २१ गते ।काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज ब्रह्माको मन्दिर उद्घाटन गर्नुभएको छ ।

उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख शाहले महानगरपालिकाको वडा नम्बर ८ जयवागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा उपप्रमुख डंगोलले प्राचीन स्मारकको जीवनका रुपमा रहेका आकृतिक, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनःस्थापित गर्न लागिरहेको बताउनुभयो ।

मूर्ति राख्ने प्रसङ्गमा उहाँले भन्नुभयो, ‘‘जहाँ मूर्तिको पूजा हुन्छ । मूर्तिलाई त्यहीँ राख्नुपर्छ । यसलाई हामीले अभियानका रुपमा अगाडि बढाएका छौँ ।’’

यो मन्दिर हराएकै एक सय वर्षभन्दा धेरै भएको थियो । वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो ।

पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो ।

संगत भन्नुहुन्छ, ‘‘अध्ययनबाट मन्दिर छैटौँ शताव्दीदेखि सातौँ शताब्दीको बिचमा निर्माण भएको अनुमान गरिएको छ । मन्दिरको वनावट र प्रकृतिसम्बन्धी दस्तावेज नपाइएपछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरुबाट मन्दिरको रेखाङ्कन गराएर पुनर्निर्माण गरिएको हो ।’’ 

मन्दिरको मूर्ति गौशाला प्रहरी वृत्तमा राखिएको थियो । चतुर्मुख व्रह्माको यो मूर्तिलाई पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार कार्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गराइएको हो ।

२०३६ सालतिर यो मूर्ति चोरिएको थियो । चोरेर लैजाने क्रममा टाढा पु¥याउन नसकेपछि चोरले छोडेर भोगेका थिए । त्यसपछि प्रहरीले मूर्तिलाई संरक्षणमा राखेको थियो ।

पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत शुशिलकुमार गौत्तमले यस  मूर्तिको विशेषताका बारेमा जानकारी दिँदै भन्नुभयो, ‘मूर्तिमा ४ वटा टाउका छन् । छातीतर्फको टाउकोले पश्चिम हेरेको छ । एउटा हातमा कमण्डलु र अर्को हातमा रुद्राक्षको माला बोकेको छ । दुईवटा टाउका काँध माथि छन् भने एउटा टाउको पछाडिपट्टि छ । यसकारण यो मूर्ति व्रह्माको हो ।’’

पछिल्लो समयमा यो मूर्ति कसको हो भन्ने विषयमा सामाजिक सञ्जालमा चलेको चर्चाका विषयमा कुरा गर्दै गौत्तम भन्नुहुन्छ, ‘‘मूर्ति ललितासनमा छ । यो ब्रह्माको आसन हो । नेपालमा ब्रह्माका दुईवटा मूर्ति छन् । एउटा यही हो । अर्को चापागाउँमा छ । यहाँका विषयमा अभिलेख प्राप्त हुन सकेको छैन । चापागाउँमा रहेको मूर्तिसँग कुवेर गुप्त र आनिक गूप्तले निर्माण गराएको उल्लेख छ ।’’

झाडी र फोहर थुपारिएको ठाउँमा मन्दिरको प्रारुप खोज्ने बेलामा लम्बाइ चौडाई साढे ८ भएको संरचना भेटिएको थियो ।

आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट एक करोड १२ लाख ४५ हजार रुपियाँ लागतमा मन्दिर पुनर्निर्माण भएको हो । सडकबाट ५ फिट उचाइमा पेटी उठाएर मन्दिर निर्माण गरिएको छ । माटो, इटा र काठको प्रयोगबाट पुनःनिर्माण भएको मन्दिर २३.५ फिट उचाइको दुई तले प्यागोडा शैलीको छ । मन्दिरमा शिरमा ३ फिटको गजुर राखिएको छ ।

संस्कृतिविद मुकुन्दराज वैद्यका अनुसार ब्रह्मा मन्दिरको पुनरुत्थानले ग्वलःदे क्षेत्रको प्राचीनतालाई पुनःस्थापना गराउन मद्दत गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..