राजविराज, असोज १६ : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१ मा अवस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा विजयादशमीको नवमीका दिन ६८९ वटा राँगाको बलि प्रदान गरिएको छ ।
बिहानैदेखि भक्तजनको भिडले खचाखच भरिएको मन्दिर परिसरमा देवीको मूर्तिलाई बलिदानको बेला कपडाले छोप्ने प्रथाअनुसार पूजा सम्पन्न गरिएको छ । बिहान ११ बजेतिर नेपाली सेनाको हेलिकोप्टरबाट भएको पुष्पवृष्टिपछि बलि प्रक्रियाको संकल्प सुरु भएको थियो । त्यसलगत्तै ११ः३० बजेदेखि सुरु भएको बलिदान साँझ ६ बजे टुंगिएको थियो ।
कंकालिनी मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलका अनुसार, एउटै परिसरमा भगवती र कंकालिनी दुवै देवीको प्रतिष्ठा भए पनि बलि चढाउने परम्परा मुख्यतः कंकालिनीदेवीकै नाममा रहिआएको छ । बलिदानको विशेषता भनेकै प्रत्येक राँगा चढाउँदा भक्तजनले देवीसँग फूल माग्ने र फूल प्राप्त भएपछि मात्र महषिासुरको प्रतिमा बलि अर्पण गर्ने परम्परा रहेको उहाँले बताउनुभयो ।
यो बलि मात्र नभइ भक्तिको संकल्प पूरा गर्ने संस्कार भएको मन्दिरका पुजारी चन्द्रकान्त भारतीले बताउनुभयो । उहाँका अनुसार, निःसन्तानले सन्तान प्राप्ति, रोगमुक्ति, पारिवारिक कष्ट निवारण तथा अनिष्ट टार्नका लागि भक्तजनले देवीलाई राँगा अर्पण गर्ने गरेका छन् ।
प्रत्येक राँगा बलिसँगै एक खसीबोकाको बलि अनिवार्य दिनुपर्ने परम्परा रहेको छ । राँगा बलि नदिने अन्य श्रद्धालुभक्तजनले खसीबोकाको बलि मात्र दिने गर्दछ । सो मन्दिरमा पाँच हजारभन्दा बढी संख्यामा खसीबोकाको बलि प्रदान गरिएको छ ।
– धीरेन्द्रप्रसाद साह