10/01/2025, 21:00:59
बुधबार, असोज १५, २०८२

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ


मनाङ, असोज १५ : असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुन्थे । अग्रिम बुकिङ गरी होटलमा बस्नसमेत ठाउँ नपाइने यतिबेलाको समयमा यसवर्ष मनाङ सुनसान छ ।

विदेशी पर्यटक विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ, विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल अरोहण गर्न आउने गर्दथे । स्वदेशी पर्यटक भने चाडपर्वको समयमा लामो बिदामा मनाङलाई भ्रमणको गन्तव्य बनाएर पुग्ने गर्दथे । तर, पर्यटकको लर्को लाग्ने यस समयमा नै यसवर्ष सुनसान छ ।

यहाँको सौन्दर्यताले विदेशी पर्यटकलाई आकर्षण गर्दै यहाँको आयस्रोतले देशकै अर्थतन्त्रमा प्रभाव पार्दछ । तर, मुख्य पर्यटकीय समयमा नै पर्यटकको आगमन भएको छैन । विगतमा विदेशी पर्यटक खचाखच हुने भए पनि यसवर्ष जेन-जी आन्दोलनले यहाँको पर्यटकीय क्षेत्रमा परेको प्रभावले देशको अर्थतन्त्रलाई नै असर गरेको प्रत्यक्ष बुझ्न सकिने पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका मुख्य आयस्रोत नै पर्यटन र कृषि हो, तर जेन-जी आन्दोलनले देशमा नै पर्यटकको आगमन नहुँदा यसवर्ष मनाङमा पनि आउन सकेका छैनन्, यसले देशको अर्थतन्त्रमा नै ठूलो प्रभाव पार्ने देखिएको छ ।” आम्दानी नहुँदा देशलाई परेको नोक्सानलाई ‘रिकभर’ गर्न सकस हुने गुरुङको भनाइ छ । विशेषगरी मनाङको राजस्वले देशकै अर्थतन्त्रमा ठूलो भूमिका रहेको उहाँले बताउनुभयो ।

आन्दोलन अघिसम्म पर्यटकको आगमन र चामेमा रहेको तातोपानी कुण्डमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेकामा अहिले सुनसान रहेको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिनुभयो । पर्यटकले विस्तारै चामे छाड्दै गएपछि पछिल्ला दिनमा त्यो क्षेत्र पनि सुनसान भएको उहाँले बताउनुभयो । “गत हप्ता यहाँ पर्यटक खचाखच भएको थियो, अहिले त स्वेदशी, विदेशी पर्यटक कोही पनि भेटिँदैनन्”, प्रजिअ पौडेलले भन्नुभयो, “केही दिनअघिसम्म साँझपख तातोपानी कुण्डमा नुहाउने विदेशी पर्यटक टन्नै भेटिन्थे, तर केही दिनयता शून्य छ ।” पर्यटक शून्य हुनुमा जेन-जी आन्दोलन र सडक सञ्जाल नै प्रमुख कारण भएको उहाँको भनाइ छ ।

विशेष गरी जेन-जीको आन्दोलनको प्रभावका साथै मनाङ भित्रिने लमजुङ खण्डको बाटो हिलाम्मे हुनु र स्थलमार्गबाट काठमाडौँदेखि बेँसीसहर हुँदै मनाङ आउने पर्यटकलाई ठाउँठाउँमा पहिरोले गरेको अवरोध नै मुख्य कारण बनेको छ । चितवनमा गएको पहिरो र यातायात सञ्चालनमा परेको कठिनाइले गर्दा पनि यहाँ सुनसान बनेको छ ।

थोरै जनसङ्ख्या भएको मनाङमा आन्तरिक पर्यटकको पनि यस पटक आगमन नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो ।

चाडपर्वका बेलामा घुम्ने परम्परा विकसित भएसँगै यहाँ आन्तरिक पर्यटक पनि वर्षा, पहिरो तथा जेन-जी आन्दोलनको असरले आउन नसकेको उहाँको भनाइ छ । विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यहाँका होटेल यसपाली पर्यटकीय मौसमको सुरुमै सुनसान बनेको होटेल व्यवसायी फुर्वा लामाले बताउनुभयो । यहाँका बुकिङ भएका होटेल पनि रद्द भएका उहाँले जानकारी दिनुभयो ।

जेन-जी आन्दोलनको असर र दुई दिनमा उल्टिएको सत्ताले गर्दा विदेशी पर्यटक एकै चोटी ह्वात्तै घटेको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको तर्क छ । अध्यक्ष गुरुङले भन्नुभयो, “यसवर्ष सुनसान छ मनाङ, पर्यटक भित्रिने मुख्य प्रवेशद्वारका रूपमा मेरै गाउँपालिका पर्छ, गतवर्ष यति बेला बाटो हिँड्न पनि मुस्किल पथ्र्यो, अहिले विदेशी पर्यटक देखिएका छैनन् ।

जिल्लामा भएका कर्मचारी पनि कार्यालय सहयोगीलाई कार्यालय कुर्ने जिम्मेवारी दिँदै दसैँ बिदामा घर फर्किसकेका छन् । यसले गर्दा मनाङ झनै सुनसान भएको छ । कर्मचारी मात्रै नभइ ९० प्रतिशत मनाङवासीको काठमाडौँ, पोखरा, चितवन लगायतका सहरमा घर तथा व्यापार व्यवसाय छ । उनीहरूका बालबच्चा सहरमा अध्ययन गर्छन् । जनप्रतिनिधि तथा व्यवसायी आफ्नो परिवारसँग बसेर चाडपर्व मनाउन सहर जाने गर्दछन् । यसले गर्दा पनि गाउँ सुनसान हुँदै गएको छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले आफू पनि परिवारका साथ चाडपर्व मान्न काठमाडौँतिर लागेको बताउनुभयो । अध्यक्ष लामाले पनि जेन-जी आन्दोलनले गर्दा यहाँको पर्यटनमा असर परेको बताउनुभयो । सुस्ताएको पर्यटन व्यवसायलाई उठाउने प्रयासमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा स्थानीयको माग छ । मनाङ देशकै पहिलो वैदेशिक व्यापारिक सम्बन्ध कायम गर्ने भएकाले यस्ता कार्यमा मनाङवासी चिन्तित बनेका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..