११ असोज, लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटकलाई शनिबार स्वागत गरी गन्तव्यमा प्रवेश गराइएको छ । ४६ औं विश्व पर्यटन दिवसको अवसर पारेर पर्यटकलाई पदमार्गका ठाउँठाउँमा स्वागत गरिएको हो ।
गएका वर्ष तामझामसहित औपचारिक कार्यक्रम गरी पर्यटकलाई स्वागत गर्ने गरिएकामा यस वर्ष भने औपचारिक कार्यक्रम हुन सकेनन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भुजुङअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-९, सिम्पानीस्थित पर्यटक प्रवेश शुल्क काउन्टर तथा पर्यटक जाँच केन्द्र, मनाङको तल्लो क्षेत्र धारापानीस्थित पर्यटक जाँच केन्द्र, एक्यापको माथिल्लो मनाङस्थित कार्यालयमा पर्यटकलाई स्वागत गरिएको हो ।
एक्याप भुजुङका वरिष्ठ पर्यटन सहायक बालकृष्ण घलेका अनुसार यस वर्ष औपचारिक कार्यक्रम गरिएन । सिम्पानीस्थित पर्यटक प्रवेश शुल्क काउन्टर तथा पर्यटक जाँच केन्द्रमा सुरुमा आएका ग्रिसका ४ जनामध्ये पुरुषलाई फूलगुच्छा दिएर खादा र ढाका टोपी साथै महिलालाई पछ्यौरा ओढाएर स्वागत गरिएको उनले बताए । पर्यटन सहायक बृजबहादुर गुरुङ, एक्यापअन्तर्गत संरक्षण क्षेत्र व्यवस्थापन समिति खुदीका अध्यक्ष प्रेमबहादुर बस्नेत, सिम्पानीका अध्यक्ष रामबहादुर थापा, घनपोखराका अध्यक्ष चेतबहादुर गुरुङ, प्रहरी लगायतले पर्यटकलाई स्वागत गरेका थिए ।
‘गत वर्ष औपचारिक कार्यक्रम गरिएको हो । यस वर्ष देशको परिस्थितिले गर्दा तामझाम नगर्ने कुरा भयो । हामी जो–जो जुट्यौं, पर्यटकलाई स्वागत गरेर गन्तव्यमा पठायौं,’ उनले भने ।
मनाङको धारापानी चेकपोष्टमा खादा लगाउँदै चिया र स्याउ खुवाएर पर्यटकलाई स्वागत गर्दै गन्तव्यतर्फ पठाइएको संरक्षण शिक्षा सहयाक भूपेन्द्र गुरुङले बताए । उनका अनुसार मनास्लु पदमार्गबाट आएका २ जना इटालियन पुरुष र १ जना ब्रिटिस महिलालाई स्वागत गरी गन्तव्यमा पठाइएको छ ।
एक्याप इलाका संरक्षण कार्यालय मनाङका प्राकृतिक स्रोत संरक्षक सहायक श्रीजित जोशीका अनुसार माथिल्लो मनाङ आएका पर्यटकलाई कार्यालयका वैकल्पिक ऊर्जा सहायक केशबहादुर गुरुङसहित कर्मचारीले पर्यटकलाई स्वागत गरी गन्तव्यमा पठाइएको छ । यसवर्ष स्थानीय होटल व्यवसायी र स्थानीय खासै उपस्थित नभएको उनले बताए ।
पर्यटकलाई टीका र खादा लगाउँदै खानेकुरा दिएर उनीहरुको गन्तव्य थोराङ्ला पास (५,४१६ मि.) र तिलिचो ताल (४,९१९ मि.) तर्फ पठाइएको उनले बताए । उनका अनुसार सुरुको पहिलो चरणमा पर्यटकसहित पथप्रदर्शक गरी १२ जना बढीलाई स्वागत गरिएको र गन्तव्यमा पठाइएको हो । ‘आउने पर्यटकलाई हामी कार्यालयका जो–जो उपस्थित भयौं, स्वागत गरी गन्तव्यमा पठायौं,’ उनले भने ।
लमजुङ सदरमुकाम बेँसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ पास गरेर मुस्ताङ, म्याग्दी भएर पोखरामा टुंगिन्छ । लमजुङबाट माथिल्लो मनाङसम्म र मुस्ताङतर्फ मुक्तिनाथसम्म मोटरबाटो पुगेपछि धेरैले मोटरबाटोमै आफ्नो यात्रा गरेर करिब १ साता पैदल हिँड्छन् । केहीले भने १०–१५ दिन नै हिँड्ने गरेका छन् । यो पदमार्गमा अहिले दैनिक १ सय बढी पर्यटक आउने गरेको एक्यापले जनाएको छ ।
– आश गुरुङ