फुङलिङ, असोज ९ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउनुहुने तीर्थयात्रीहरूको सहजताका लागि तयारी तीव्र बनाइएको छ । सिजन सुरु भएसँगै पाथिभरा क्षेत्र विकास समितिले तयारी तिव्र बताएको हो ।
दर्शनार्थीलाई मन्दिर क्षेत्रका बारेमा जानकारीसहित यात्रा सहजताका लागि तोक्मेडाँडा, नयाँ बसपार्क, सुकेटार, काफ्ले पाटी, ठुलो फेदी र मन्दिरसम्म नै यात्रु साहयता कक्ष स्थापना गरिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाले बताउनुभयो ।
यस्तै, पाथीभरा मन्दिरको काफ्ले पाटीसम्म पुग्ने यातायात मार्ग धमाधम स्तरोन्नतिको क्रममा रहेकाले पानी परेको समयमा उक्त मार्ग हिलाम्मे हुने गर्दछ । यसको अस्थायी समाधान गर्ने कार्यमा अघि बढाइएको कार्यकारी निर्देशक हाङवाङको भनाइ छ ।
दर्शनार्थीहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गरी माथिल्लो फेदी र पाथीभरा मन्दिरतर्फको पदमार्गका बिभिन्न स्थानमा हेल्थ डेस्क स्थापनाको प्रक्रिया पनि अघि बढाइएको छ । यात्रुलाई सुरक्षित रूपले मन्दिरको दर्शन गरी फर्कने व्यवस्थाका लागि पाथीभरा मन्दिर क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीलाई सहयोगका लागि आह्वान गरिएको छ ।
मन्दिर परिसरभित्र दर्शनार्थीको चापका आधारमा लाइन लगाई व्यवस्थित रूपले पूजा गर्ने व्यवस्थापन समेत गरिसकिएको र स्वयंसेवक थपको कार्य अघि बढाइएको क्षेत्र विकास समितिले जनाएको छ ।
पाथीभरा क्षेत्रमा रहेका होटल तथा आवास कक्षमा पुगेर बस्ने दर्शनार्थीलाई सहज रूपले आवाससहितको व्यवस्थापनका लागि पाथीभरा क्षेत्रका होटल व्यवसायीसँग समेत चरणबद्ध छलफल गरी व्यवस्थापनका विषयमा सबैलाई संवेदनशील बन्न आग्रह गरिएको हाङवाङले बताउनुभयो ।
नवरात्रको समय सुरु भएसँगै पाथीभरामा दर्शनार्थीको उपस्थिति बाक्लो हुँदै गएको छ । सिजनको समयमा पाथीभरा मन्दिरमा एकै दिन १० हजारसम्म दर्शनार्थी आउने गरेका छन् ।