म्याग्दी (बेनी), असोज ८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका अन्तर्गतको मुदीस्थित विश्वको सातौँ अग्लो धवलागिरि हिमाल आरोहणका आरोहीहरू आधार शिविर पुग्न थालेका छन् । चालु शरदयामका लागि आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्न पर्यटन विभागबाट अहिलेसम्म स्वदेशी र विदेशी गरी २४ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
मौसम सफा हुनथालेपछि अनुमति लिएका आरोही र सहयोगी शेर्पासहित आधार शिविर पुग्न थालेका छन् । आरोहीहरू चार हजार ७५० मिटरको उचाइमा रहेको आधार शिविरमा पुग्न थालेको धवलागिरि गाउँपालिका मुदीका पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताउनुभयो । मुदी भएर जाने बाटो पहिरोले बगाएपछि आरोहीहरू मुस्ताङको मार्फादेखि याकखर्क हुँदै आधार शिविर जान थालेको जानकारी उहाँले दिनुभयो ।
पर्यटन विभागका अनुसार धवलागिरि आरोहणको अनुमति लिएकाबाट अहिलेसम्म ५० लाख ७१ हजार सलामी दस्तुर प्राप्त भएको छ । आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेको पर्यटन व्यवसायी तिलिजाले बताउनुभयो ।
गत आर्थिक वर्षको शरद र वसन्तयाम गरेर चार समूहका ३० जनाले धवलागिरि आरोहणको अनुमति लिएकाबाट ५६ लाख २२ हजार ७५० रुपियाँ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । आधार शिविर पुगेका शेर्पाहरूको टोलीले पहिलो चरणमा बाटो बनाउने र डोरी टाँग्ने काम गर्ने छन् । धवलागिरिमा मौसम परिवर्तन भइरहने भएकाले आरोहणका लागि निकै चुनौती मानिन्छ । अस्थिर मौसमका कारण धवलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरूको अनुभव छ ।
– ठाकुरप्रसाद आचार्य