09/19/2025, 19:05:29
शुक्रबार, असोज ०३, २०८२

अलैँचीको बजार मूल्यमा गिरावट


झापा, असोज ३ : नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ ।

नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा आज अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताउनुभयो । सबैभन्दा राम्रो गुणस्तरको अलँैचीलाई ‘बोल्ड’ भनिन्छ । उहाँका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन रु ८१ हजार रहेको छ ।

मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन रु ८४ हजार रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । भदौ पहिलो साता अलैँचीको बजार मूल्य अकाशिएको थियो । उसबेला प्रतिमन रु ९४ हजारसम्ममा अलैँची खरिद–बिक्री भएको थियो ।

दसैँको सङ्घारमा किसानले घरायसी गर्जो टार्नका लागि सानो मात्रामा अलैँची बजारमा बिक्री गर्न थालेको र अहिले लेकाली अलैँची धमाधम सुकाउने कार्य भइरहेको हुँदा बजारमा अझै धेरै अलैँची आउन बाँकी नै रहेको अध्यक्ष नेपालले बताउनुभयो ।

नेपालको ४२ जिल्लामा अलैँचीखेती हुने गरेको छ । कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा अलैँची अत्यधिक खेती हुँदै आएको छ । अलैँची व्यवसायी महासङ्घका अनुसार कोशी प्रदेशको सात हजार ५०० हेक्टर र मुलुकभर १७ हजार हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुन्छ । नेपालमा यसको कुल उत्पादन आठ हजार मेट्रिक टनसम्म छ । उत्पादनको पाँच प्रतिशत मात्र घरेलु खपत भएकाले ९५ प्रतिशत उत्पादन विदेश निकासी हुँदै आएको छ ।

आर्थिक वर्ष २०८१-८२ मा पूर्वीनाका काँकडभिट्टा भएर रु सात अर्ब ६७ करोडको नेपाली अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..