काठमाडौँ, भदौ २६ : सर्वोच्च अदालतले आइतबार २९ भदौदेखि बन्दी प्रत्यक्षीकरणसहित अन्य नियमित सुनुवाइ सुरु गर्ने भएको छ । बिहीबारको आकस्मिक फूलकोर्टले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रूपमा रहेका अदालतका मिसिल कागजातहरू र भौतिक स्रोत साधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरू, कर्मचारीहरू, कानुन व्यवसायीहरू, कानुनका विद्यार्थीहरू, सुरक्षाकर्मीहरू एवं सर्वसाधारण नागरिकहरूप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ,’ राउतले भनेका छन् ।
२३ र २४ गते भएको घटनाका क्रममा मृत्युवरण गर्न पुगेका नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै उनले घटनाका क्रममा घाइते भएका सम्पूर्ण नेपाली नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गरे । ‘सर्वोच्च अदालत लगायत देशका अन्य अदालतहरूमा भएको आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरूमा पुग्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौँ,’ राउतको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकहरूको आस्थाको केन्द्रको रूपमा रहेको अदालतहरूमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरूका महत्त्वपूर्ण दस्तावेजहरु, अदालतमा रहेका उपकरणहरू, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्न गएको छ ।’
नेपालको न्यायिक इतिहासका महत्त्वपूर्ण दस्तावेजहरु करिब-करिब नष्ट हुन गएको विज्ञप्तिमा उल्लेख छ । ‘यस्तो विषम परिस्थितिमा पनि नेपालको संविधानले न्यायपालिकालाई सुम्पेको दायित्व निर्वाह गर्दै जनतामा निहित सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण्ण हकप्रति सम्मान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहँदै आम नागरिकहरूका न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’