09/11/2025, 15:13:08
बिहिबार, भदौ २६, २०८२

फरार कैदीबन्दी भारतीय प्रहरीको नियन्त्रणमा


चन्द्रपुर (रौतहट), भदौ २६ :  गौर कारागारबाट मंगलबार राति फरार भएका कैदीबन्दी मध्ये १३ जनालाई भारतीय एसएसबिले नियन्त्रणमा लिएको छ ।

गौर बैरगनिया सिमानाकाबाट भारततर्फ प्रवेश गर्ने क्रममा भारतीय सीमामा एसएसबीले नियन्त्रणमा लिएका छन् । जेनजीको आन्दोलनपछि भारतीय एसएसबीले सीमानाकामा कडाइ अपनाएका छन् ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका –४ का जितेन्द्र गिरी र राजेश पटेल, गौर नगरपालिका –५ का विवेक मिश्र, गरुडा नगरपालिका –५ का गणेश साह र रणधीर यादव, गढिमाइ नगरपालिका –१ का सन्तोष राम, इशनाथ नगरपालिका –२ का राजन साह सोनार, दुर्गाभगवति गाउँपालिका –४ का अजय यादव र देवाही गौनाही नगरपालिका –५ का मोहन साह  रहेका छन् ।

त्यस्तै, भारत पूर्वी चम्पारण घोड़ासाहन  बसबरियाका मोनु जायसवाल, घोड़ासाहन  महुआई–७ का राकेश कुमार, चिरैया थाना क्षेत्र दीपही–२ का मुनिफकुमार यादव  र सीतामढी जिल्ला मेजरगञ्ज थाना मडपा सिरपालका सुधीर कुमारमहतो  रहेका छन् ।

बैरगनिया थाना प्रमुख उमाशंकर रजकले  पक्राउ परेका गौर –५ का विवेक मिश्र बैरगनिया क्षेत्रकै एक हत्या प्रकरणमा फरार अभियुक्त रहेकाले उनलाई सीतामढी न्यायिक हिरासतमा पठाइएको बताउनुभयो ।

अन्य १२ कैदीबन्दिलाई बैरगनिया प्रहरी नियन्त्रणमा राखिएको छ । उच्च अधिकारीहरूको निर्देशनपछि नेपाल प्रहरीको जिम्मा लगाउने उहाँले बताउनुभयो । गौर कारागारमा रहेका २ सय ९१ जना कैदी बन्दी मध्ये २ सय ६० जना कैदीबन्दी मंगलबार राति फरार भएका थिए । फरार कैदी बन्दीहरूमध्ये ३१ जनालाई मंगलबार राति नै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । अहिले पनि दुई सय १६ जना कैदीबन्दी फरार नै रहेको छ ।

फरार कैदी बन्दिको खोजी कार्य जारिरहेको कारागार कार्यालय रौतहटका प्रमुख मनिष झाले जानकारी दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..