09/11/2025, 14:37:41
बिहिबार, भदौ २६, २०८२

११ हजार ५०५ कैदी भागे, खोजी जारी


काठमाडौँ, भदौ २६ :  मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका विभिन्न स्थानमा रहेका कारागार तोडेर कैदीबन्दी भगाउने र फरार हुने क्रम बढेको छ । जेनजी पुस्ताको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउँदै मुलुकमा अकल्पनीय जनधनको क्षति गरिएसँगै कमजोर सुरक्षा व्यवस्थाको मौका छोपी विभिन्न अपराधमा संलग्न कैदी नै फरार भएपछि समाजमा भय सिर्जना भएको छ ।

कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित तीन हजार ४५० कैदी फरार भएका छन् । कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार हालसम्म कम्तीमा ११ हजार ५०५ जना कैदीबन्दी विभिन्न जेल तोडेर फरार भएका छन् । राजधानीको केन्द्र सुन्धाराबाट सबैभन्दा बढी कैदी फरार भएका हुन् ।

त्यसै गरी गम्भीर प्रकृतिको अपराधमा संलग्न हुने कैदी राखिने सुनसरीको झुम्का कारागारबाट मात्र एक हजार ५७२ जना फरार भएका छन् । मङ्गलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएपछि नख्खु कारागारमा रहेका अन्य एक हजार २७२ जना कैदी जेल तोडेर फरार भएका थिए । उनीहरू फरार भएको सूचना बाहिरिएपछि अन्य कारागार तोडफोड गर्ने क्रम बढेको हो ।

सुरक्षाका कारण देखाउँदै मङ्गलबार कारागार प्रशासनले रवि लामिछानेलाई उहाँकी पत्नी निकिता पौडेलको जिम्मा लगाइएको थियो । यो घटनापछि अन्य कैदीले जेल नै फोडेर भागे । त्यसपछि उत्पन्न अवस्थालाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसक्दा ठुलो सङ्ख्यामा कैदीहरू कारागारबाट भाग्न सफल भएका हुन् । त्यहाँ केही महिलासहितका कैदीबन्दी स्वेच्छाले बसेकाबाहेक सबै कैदीबन्दी फरार रहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति १० बजेदेखि नेपाली सेना सुरक्षार्थ खटिई बुधबार बिहानैदेखि कफ्र्यु लगाइए पनि दिउँसो डिल्लीबजारस्थित कारागारमा कैदीबन्दीले गेट तोडेर भाग्ने प्रयास गरे । केही भागिसकेका कैदीबन्दीलाई समेत तत्काल सेनाले नियन्त्रणमा लिई कारागारमै फिर्ता ग¥यो ।

लुम्बिनीमा एक हजार दुई सय फरार 

लुम्बिनी प्रदेश ब्युरोबाट प्राप्त समाचार अनुसार जेनजी आन्दोलनको अवसर छोपेर देशका विभिन्न कारागार र सुधारगृहबाट एक हजार दुई सयभन्दा बढी कैदीबन्दी फरार भएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कारागारबाट भागेका ती कैदीबन्दीमध्ये केहीलाई भने सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । कैदीबन्दीले गेट फोडेर वा सुरक्षाकर्मीमाथि आक्रमण गर्दै सामूहिक रूपमा भागेका हुन् । केही स्थानमा झडपका कारण मृत्युसमेत भएको छ ।

दाङ तुलसीपुरबाट २५३ फरार ४० नियन्त्रणमा 

घोराही समाचारदाता लीलाधर वलीका अनुसार दाङको तुलसीपुर कारागारबाट २५३ जना कैदीबन्दी भागेकामध्ये ४० जनालाई मात्र नियन्त्रणमा लिइएको छ । मङ्गलबार साँझ ‘ख’ ब्लकबाट १२४ जना र बुधबार बिहान ‘क’ र ‘ख’ ब्लकबाट थप ८९ जना भागेका थिए । कारागार प्रमुख गिरबहादुर सेजुवालका अनुसार १७३ जना अझै फरार छन् भने नेपाली सेना, नेपाल प्रहरी र अन्य सुरक्षा निकायले खोजी जारी राखेका छन् । तुलसीपुर कारागारमा यसअघि ४६९ जना कैदीबन्दी थिए भने अहिले २५६ जना मात्र बाँकी रहेका छन् ।

कपिलवस्तुबाट ४३५ फरार ५९ नियन्त्रणमा 

तौलिहवा समाचारदाता नारद कुँवरका अनुसार कपिलवस्तुको तौलिहवास्थित कारागारबाट बुधबार बिहान करिब ४३५ कैदीबन्दी फरार भए । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भाग्ने क्रममा करिब ५९ जना नियन्त्रणमा लिइएका छन् । बाँकी कैदीबन्दी अझै फरार छन् ।

परासी कारागारबाट पाँच सयभन्दा बढी फरार 

पश्चिम नवलपरासी समाचारदाता विकास अधिकारीका अनुसार पश्चिम नवलपरासीको परासीस्थित कारागारमा रहेका ५७६ मध्ये पाँच सयभन्दा बढी कैदीबन्दी बुधबार बिहानै गेट फोडेर भागेका छन् । कर्मचारी किरण अर्यालका अनुसार कैदीबन्दीले सामूहिक रूपमा तोडफोड गरेपछि सेना र सशस्त्र प्रहरी परिचालन भए पनि नियन्त्रण गर्न नसकिएको हो । अश्रुग्यास प्रहार गर्दा पनि कैदीहरू नरोकिएपछि अधिकांश भाग्न सफल भए ।

पाँच बालबन्दीको मृत्यु 

नेपालगन्ज समाचारदाता सिराज खानका अनुसार बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृहमा मङ्गलबार राति सुरक्षाकर्मी र बालबन्दीबिच झडप हुँदा पाँच बालबन्दीको मृत्यु भएको छ । भाग्न खोज्ने क्रममा सुरक्षाकर्मीको हतियार खोस्ने प्रयासपछि प्रहरीले गोली चलाउँदा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको हो । झडपमा चार जना गम्भीर घाइते भएका छन् भने करिब ८० जना बालबन्दी फरार भएका छन् । सुधारगृहसँगै रहेको नौबस्ता कारागारका कैदी पनि भागेका छन् । घटनापछि नेपालगन्जस्थित भेरी अस्पतालमा घाइतेको उपचार भइरहेको छ भने मृतकको शव पनि त्यहीँ राखिएको छ । प्रहरी प्रशासनले हाल सबै कारागार र अस्पताल वरपरको सुरक्षा कडा पारेको छ र फरार कैदी तथा बालबन्दीको खोजी कार्य तीव्र बनाएको जनाएको छ ।

कास्की कारागार र जिप्रका हिरासत खाली

लेखनाथ समाचारदाता फडिन्द्र अधिकारीका अनुसार आन्दोलनकारीले मङ्गलबार राति जिल्ला कारागार कास्कीका कैदीबन्दी सबैलाई बाहिर निकालेका छन् । दुई नाबालक र ३५ महिलासहित ७७३ जना कैदीबन्दी निस्किएपछि कास्की कारागार खाली भएको छ । आन्दोलनकारीले कारागारको कार्यालय भवन र कागजात जलाए पनि कैदीबन्दी बस्ने भवन भने सकुशल रहेको जेलर राजेन्द्र शर्माले जानकारी दिनुभयो । शर्माले भन्नुभयो, “बाहिरबाट आन्दोलनकारीले निस्कन भने भित्रबाट पनि जान चाहने नै भए ।”

यसै गरी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत पनि खाली भएको छ । आन्दोलनकारीले मङ्गलबार राति कार्यालय नियन्त्रणमा लिएर हिरासतमा रहेका ६१ जनालाई निकालेर आगो लगाएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बुधबार कार्यालय पुनस्र्थापित गर्न सुरु गरिएको जानकारी दिनुभयो । “आन्दोलनकारीले कागजात जलाएका छन्, हिरासत खाली बनाएका छन्, हातहतियार पनि लगेका छन्,” बस्नेतले भन्नुभयो, “कुन कुन पक्षमा के के क्षति भो भन्ने सङ्कलन गर्दै छौँ ।” आन्दोलनकारीले ठाउँ ठाउँमा रहेका प्रहरी बिट जलाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसमेत जलाएका छन् ।

जलेश्वरबाट भागे ५७२ जना 

गौशाला समाचारदाता अजय शाहका अनुसार महोत्तरीको जलेश्वर कारागारबाट मङ्गलबार साँझ ५७२ जना कैदी भागे । प्रहरीका अनुसार कारागारबाहिर रहेका प्रदर्शनकारी र भित्रका कैदीले संयुक्त रूपमा कारागारको पर्खाल भत्काएपछि उनीहरू फरार भएका हुन् । साँझ करिब ७ बजे पाँच सयभन्दा बढी लाठीसहितका प्रदर्शनकारीले भित्रका कैदीसँग हातेमालो गरेका थिए । कैदीहरूले भान्सामा प्रयोग हुने दाउराको सहायताले पर्खाल भत्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा बताउनुभयो । फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो ।

गौरबाट २२९ कैदी फरार

गौर समाचारदाता सञ्जयकुमार मिश्रका अनुसार रौतहटको गौर कारागारबाट २२९ कैदीबन्दी फरार भएका छन् भने तीमध्ये ६२ जनालाई संयुक्त सुरक्षा फौजले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो । अदालतको आदेशमा विभिन्न मुद्दामा कैद सजाय भई कैदीबन्दी जीवन बिताइरहेका २९१ कैदीबन्दीमध्ये ६२ जना अहिले कारागारमा रहेका छन् । कारागारमा रहेका कैदीबन्दी मङ्गलबार राति करिब ११ बजेको समयमा कारागारको भित्ताहरू फुटाएर भाग्न सफल भएका हुन् । भागेका कैदीबन्दीहरूमध्ये १० देखि १२ जनालाई नेपाल भारत सीमामा तैनाथ भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बुझिएको छ ।

यसैबिच मधेश प्रदेश ब्युरोका अनुसार मधेश प्रदेशका विभिन्न जिल्ला कारागारबाट भागेकामध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कारागार कार्यालय सप्तरीको गेट तोडेर बुधबार फरार भएका कैदीमध्ये २४ जनालाई प्रहरीले पक्राउ गरेको कल्याणपुर समाचारदाता विनय कर्णले लेख्नुभएको छ । कारागारमा रहेका ३९५ जना कैदीमध्ये २०५ जना फरार भएकोमा जिल्लाका विभिन्न स्थानबाट २४ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पत्रकार भेटघाटमा फरार कैदीको खोजी तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो । कारागारबाट भाग्ने क्रममा एक जना कैदी घाइते भएको र उनको उपचार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले  बताउनुभयो । फरारमध्ये १८१ जना कैदीको खोजी कार्य तीव्र बनाइएको र भारततर्फ भाग्ने खतरा भएकाले विहार राज्यसंँग जोडिएको कुनौली तथा सखडा सीमा (बोर्डर) बन्द गरिएको  प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । कारागारबाट भाग्ने मनसायले कैदीले आफैँभित्र आगो लगाएपछि अवस्था नियन्त्रणबाहिर गएको थियो । कारागारमा ३९५ जना कैदी थिए । मङ्गलबार दिनभर तनावग्रस्त राजविराजको अधिकांश सरकारी कार्यालयमा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरी सुरक्षामा नेपाली सेना खटिइएपछि बुधबार राजविराजको अवस्था सामान्य बनेको छ ।

सर्लाही समाचारदाता जनार्जन खत्रीका अनुसार कारागार कार्यालय मलङ्गवामा बुधबार बिहान कैदीबन्दीले प्रदर्शन चर्काए पनि नेपाली सेनासहितको टोलीले स्थिति नियन्त्रणमा लिएको छ । बुधबार बिहानै कैदीबन्दीले कारागारमा आगजनी गरेर भाग्ने प्रयास गरेका थिए तर तत्काल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी चारै दिशामा तैनाथ भएर स्थिति साम्य पारेका हुन् । दुई वर्षअघिबाट मात्रै पुनःर्निर्माण गरी सञ्चालनमा ल्याइएको कारागारको माथिल्लो तलामा कैदीबन्दीले गरेको आगजनी मलङ्गवा नगरपालिकाको दमकलको सहायतामा निभाइएको प्रहरीले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..