09/03/2025, 03:17:00
मङ्गलबार, भदौ १७, २०८२

अमेरिकाबाट धमाधम डिपोर्ट हुँदै नेपाली

अध्यागमन र प्रहरीबाट प्राप्त विवरणमा ‘डिपोर्ट’ भएर आएका दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका सबैभन्दा धेरै छन्


१७ भदौ, काठमाडौं : राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट नेपालीहरु डिपोर्ट हुने क्रम निरन्तर जारी छ । यसअघि दुई फरक-फरक चार्टर उडानमार्फत र नियमित उडानमार्फत नेपालीहरु डिपोर्ट भएका थिए ।

अमेरिकी सरकारले तेस्रो पटक चार्टर विमानमार्फत डिपोर्ट गरेका थप ३७ जना नेपाली बुधबार काठमाडौं आइपुग्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका अनुसार जनवरीदेखि अगस्टसम्म ८ महिनामा मात्रै अमेरिकाबाट २ सय १५ जना नेपाली डिपोर्ट भएर आइसकेका छन् ।

यसअघि अमेरिकाले २१ फागुन २०८१ मा डिपोर्टमा परेका ७ पुरुष र १ महिला सहित ८ जना चार्टर विमानमार्फत नेपाल पठाएको थियो । २४ जेठमा ३२ पुरुष र ५ महिला गरेर ३७ जना नेपालीलाई अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स  जहाजबाट नेपाल पठाएको थियो । डिपोर्टमा परेका नेपाली लिएर बुधबार आउन लागेको चार्टर जहाज तेस्रो हो । यसका अलवा डिपोर्ट भएका १७० जना भने नियमित उडानमार्फत नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मे मा ५८, जुनमा ४२, जुलाइमा १७ र अगस्तमा १६ नेपाली डिपोर्ट भइ नेपाल फर्किसकेका छन् । डिपोर्ट भएकामध्ये १९७ पुरुष छन् भने १८ महिला ।

२० जनवरी २०२५ मा दोस्रो कार्यकालको पदभार सम्हालेसँगै राष्ट्रपति ट्रम्पले गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालसहितका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति अगाडि बढाइरहेका छन् । ट्रम्प प्रशासनले त्यहाँको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आईस) मार्फत नेपालसहित विभिन्न मुलुकमा गैरकानुनी बसोबास गर्ने आप्रवासीलाई पक्राउ गरी निष्कासनको अभियान नै चलाएको छ । आईसले नेपालसहित विभिन्न देशबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासन गर्ने सूचीमा राखेकामा सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, भेनेजुएलाका नागरिक गैरकानुनी रूपमा बसोबास गरिरहेको विवरण यसअघि नै सार्वजनिक भएको थियो ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार अमेरिकाबाट निष्कासनमा परेका अधिकांश नेपाली मानव तस्करीमा संलग्न संगठित गिरोहलाई मोटो रकम बुझाएर एसिया, युरोप र अफ्रिकाका विभिन्न देश हुँदै अमेरिका छिर्नेहरू बढी छन् । केही व्यक्ति भने विभिन्न कार्यक्रममा अमेरिका गएर उतै गैरकानुनी रूपमा बसोबास गर्दै आएका पनि छन् ।

अध्यागमन र प्रहरीबाट प्राप्त विवरणमा ‘डिपोर्ट’ भएर आएका दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका सबैभन्दा धेरै छन् । ‘डिपोर्ट’ भएका अधिकांश संगठित गिरोहलाई रकम बुझाएर तल्लो रुट (अवैध बाटो) बाट अमेरिका प्रवेश गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अधिकारीहरूका अनुसार ‘डिपोर्ट’ हुने अधिकांश नेपालसहित विभिन्न देशमा सक्रिय गिरोहमार्फत तल्लो रुटबाट अमेरिका पुगेको पाइएको छ ।