ललितपुर ,भदौ १६ :नेपाल टेक मार्केटले नेपालको फोहर मैला व्यवस्थापनका लागि आधुनिक (स्मार्ट) ‘सफ्टवेयर’ प्रणालीको सार्वजनिक गरेको छ । आधुनिक प्रविधिको विकास सँगसँगै सहरी सरसफाइका लागि सहजता ल्याउने अभिप्रायले सोलिड वेष्ट एशोसियशन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा फोहर व्यवस्थापन प्रणाली सार्वजनिक गरिएको नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी अधिकारीले जानकारी दिए ।
“यो पहल केवल प्रविधि मात्र होइन, सामाजिक जिम्मेवारीसँग जोडिएको हाम्रो सामूहिक संकल्प हो, फोहर समस्या मात्र होइन, यसलाई सदुपयोग गरेर पुन:प्रयोग गर्ने, पुन:चक्रण गर्ने, नयाँ प्रविधि ल्याउने र दिगो समाधान सिर्जना गर्ने सुनौलो अवसर हो”, अधिकारीले भने ।
उनले यो प्रणाली उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर विकसित गरिएको बताए। उनले यस प्रणालीमा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिएको जानकारी दिँदै यसले फोहर व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गरे।
आइतवार ललितपुरमा आयोजित कार्यक्रममा फोहर व्यवस्थापन प्रणाली बारे जानकारी दिँदै अपकोड नेपालका वरिष्ठ सफ्टवेयर इञ्जिनियर मंगल कृष्ण प्रधानले फोहर मैला व्यवस्थापन प्रणालीलाई प्रयोगकर्तामैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी प्रचलन समावेश गरिएको बताए।
“यो प्रणाली बलियो, सुरक्षित र प्रयोग गर्न सजिलो छ, यसले फोहर संकलन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउँछ, नेपालको भविष्यको नीति कागजमा मात्र होइन, सपना देख्ने, सिर्जना गर्ने र सहकार्य गर्ने हाम्रा हातमा लेखिन्छ, आज हामी केवल एउटा सफ्टवेयरको विकास मात्रै गरिरहेका छैनौँ, एउटा व्यवस्थापन प्रणालीको विकास गरेर सुन्दर र सुखी भविष्यका लागि अभियान सुरु गर्दछौँ । सुन्दर र सफा सहरको दिगो विकासको लागि सचेतनाका लागि नागरिकको अभियानलाई सफल बनाउन लागि रहेका छौँ”, उनले भने ।
इञ्जिनियर प्रधानका अनुसार यो फोहर व्यवस्थापन सफ्टवेयरको सम्भावित प्रयोगकर्ताहरू फोहर मैला व्यवस्थापनमा काम गर्ने संस्था, घरायसी फोहर उत्पादन गर्ने, हस्पिटल, होटेल, व्यवसायी, विद्यालय, सरकारी संस्था आदि यो सफ्टवेयरका प्रयोगकर्ता हुन् ।य स सिस्टममार्फत प्रत्येक फोहर व्यवस्थापन गर्ने कम्पनी, फोहर उत्पादन गर्ने संघ संस्था, घरबीच अन्तर सम्पर्क गर्न सकिनेछ । फोहर व्यवस्थापन गर्न लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्नु साथसाथै यो सिस्टमले नगरपालिकाको लागि छुट्टै ड्यासबोर्ड उपलब्ध गराएको छ। नगरपालिकाका युजरबाट आफ्नो नगर वडामा फोहर व्यवस्थापनका के–के गतिविधिहरू भइरहेको छ भनेर थाहा पाउन सक्नेछ ।
यो फोहर व्यवस्थापन प्रणालीले नेपालमा फोहर व्यवस्थापनको क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य राखेको उनले जानकारी गराए। यो प्रणालीमा फोहर बोक्ने सवारीमा जिपिएस प्रणालीको उपयोग, फोहरको वर्गीकरणअनुसार व्यवस्थित पुन:उपयोगलाई जोड दिने जानकारी गराइएको छ ।
नेपाल टेक मार्केटका प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले यस प्रणालीले प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको बताए। “प्रविधिको उपयोगबाट हुने डिजिटल रूपान्तरणले जनजीवनलाई सहज बनाउँदै हरेक घरघरलाई फोहरको वर्गीकरण गर्न प्रेरित गर्छ, यसले स्थानीय तहको कार्यक्षमता बढ्छ । सफा सहर कायम गर्दै समुदायलाई सबल बनाउन प्रेरित गर्छ”, उनले भनिन् ।
यस अभियानले नीति निर्माता, नगरपालिका, निजी क्षेत्र, नवप्रवर्तनकर्ता र समुदायलाई एकताबद्ध गराउँदै सफा र सुन्दर सहर निर्माणतर्फ ठोस कदम चाल्ने लक्ष्य राखेको जनाइएको छ ।
यो प्रणालीमार्फत ‘सफा सहर अभियान’ लाई दीर्घकालीन पहलको रूपमा स्थापित गर्ने, फोहर व्यवस्थापन प्रणाली नीति तथा रणनीतिक संवादलाई प्रवर्द्धन गर्ने, पुन:चक्रण उद्योग र हरित रोजगारीका अवसर उजागर गर्ने, विद्यालय र समुदायमार्फत नागरिकलाई सक्रिय बनाउने, अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा लागू गर्ने र सञ्चारमाध्यममार्फत प्रभाव सिर्जना गर्ने लक्ष्य राखिएको नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी गराए ।