काठमाडौँ, भदौ १६ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ ।
हाल मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।