काठमाडौँ, भदौ १३ : दस ठुला वाणिज्य बैङ्कको अन्तर्राष्ट्रिय गुणस्तरको पूर्ण लेखा परीक्षण गर्न बिहीबार सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैङ्कले १० ठुला वाणिज्य बैङ्कको सम्पत्ति गुणस्तर परीक्षण गर्न बङ्गलादेशको हउलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई छनोट गरेको थियो । उक्त कम्पनी र राष्ट्र बैङ्कबिच बिहीबार सम्झौता भएको हो ।
पूर्ण लेखा परीक्षणको सूचीमा परेका वाणिज्य बैङ्कमा ग्लोबल आइएमई बैङ्क, नबिल बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कुमारी बैङ्क, लक्ष्मी सनराइज बैङ्क, प्रभु बैङ्क, हिमालयन बैङ्क, नेपाल बैङ्क लिमिटेड र एनआइसी एसिया बैङ्क रहेका छन् ।
हउलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सले कर्जा लगानीका आधारमा छनोट गरिएका ती वाणिज्य बैङ्कको लोन पोर्टफोलियोको प्रत्यक्ष अध्ययन गरी प्रतिवेदन राष्ट्र बैङ्कमा पेस गर्ने छ । लेखा परीक्षणका लागि दुई/तीन दिनमा काम सुरु गर्ने राष्ट्र बैङ्कका प्रवक्ता किरण पण्डितले जानकारी दिनुभयो ।
नेपाल सरकारले वित्त क्षेत्र र मौद्रिक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाउँदै अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको विस्तारित कर्जा सुविधाका लागि सम्झौता गरेको थियो ।
विगतमा बैङ्कले ‘इभर ग्रिनिङ’ जस्ता अभ्यासमार्फत खराब कर्जा लुकाएको आशङ्का भएपछि आइएमएफले निष्पक्ष अन्तर्राष्ट्रिय अडिटरमार्फत लेखा परीक्षण गराउन आग्रह गरेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











