08/27/2025, 17:57:15

इजरायली सैन्य कारबाहीका कारण गाजा सिटीमा हजारौं मानिस विस्थापित


संयुक्त राष्ट्र, न्यूयोर्क, भदौ ११ : इजरायली सैन्य कारबाही सुरु भएयता गाजा सिटीमा हजारौं मानिस घरबार विहीन भएका छन् । संयुक्त राष्ट्रका मानवीय सहयोगकर्ताले मंगलबार यस्तो जानकारी दिएका छन् ।

संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय गर्ने कार्यालयले भदौ १४ देखि २५ सम्ममा ३६ हजार दुई सयभन्दा बढी मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक गरेको छ । ती मध्ये करिब ११ हजार ६ सय मानिस गाजाको उत्तर भागबाट दक्षिण भागमा सरेका छन् । मात्र आइतबारदेखि सोमबारसम्म मात्रै दुई हजार बढी मानिस विस्थापित भएका थिए ।

अधिकांश विस्थापित गाजा सिटीका विभिन्न बस्तीबाट आएका छन् । दुई तिहाइभन्दा बढी ‘देइर अल-बालाह’ क्षेत्रतर्फ र झन्डै एक तिहाइ ‘खान यूनिस’ क्षेत्रतर्फ सरेका छन् । गाजा स्वास्थ्य निकायले विगत २४ घण्टामा पोषण अभाव र भोकमरीका कारण थप तीन जनाको मृत्यु भएको जनाएको छ । यससँगै पोषण अभावका कारण मृत्यु हुनेको संख्या ३०३ पुगेको छ , जसमा ११७ बालबालिका छन् ।

गाजाका अस्पतालले रगतको गम्भीर अभाव भएको चेतावनी दिएका छन् । दैनिक ३५० युनिटभन्दा बढी रगतको आवश्यकता भए पनि, भोकमरी र पोषण समस्याका कारण रगतको दान कम भएको छ । यसले घाइतेको उपचारमा थप समस्या सिर्जना गरेको छ । त्यसैगरी, इजरायली अधिकारीले गाजा क्षेत्रमा सहायता सामग्री ल्याउन र वितरण गर्न अवरोध पुर्याइरहेका छन् ।

यसले संयुक्त राष्ट्र र सहयोगी संस्थाले जीवनरक्षक सामग्री पुर्याउन कठिनाइ भोग्नु परेको छ । सोमबार योजनाबद्ध १२ मध्ये ६ सहायता अभियान इजरायली अधिकारीसँग समन्वय गरी सम्पन्न भएका छन् । तर, केरम शालोम र जिकिम सीमा नाकाबाट सामग्री ल्याउने तीन अभियान आंशिक मात्र सफल भएका छन् भने दुई अभियान रद्द गर्नु परेको छ ।

सडक मर्मतका लागि अनुरोध गरिएको अभियानलाई पनि अनुमति दिइएको छैन । मानवीय सहयोगकर्ताले गाजामा भोकमरी पुष्टि भइसकेको भन्दै, युद्ध, विस्थापन र सहायता अवरोधका कारण मानवीय अवस्था अत्यन्तै नाजुक भएको बताएका छन् । संयुक्त राष्ट्रको कार्यालयले भनेको छ, “तत्काल शान्ति कायम गर्नुपर्छ र सम्पूर्ण क्षेत्रमा अवरोधविहीन मानवीय सहायता पुग्नुपर्छ । यसले पीडित नागरिकहरूको दुख कम गर्न सहयोग गर्ने छ ।”


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..