काठमाडौँ, भदौ १० : सर्वोच्च अदालतले केवल शारीरिक रूपमा नांगो हुनुलाई मात्र अश्लीलता प्रदर्शन भनी टिप्पणी गर्न नमिल्ने व्याख्या गरेको छ । न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले पशुपतिमा शिवरात्रीमा आउने नागा बाबाहरूको गतिविधि नियन्त्रण माग गर्दै दायर गरिएको रिटमा व्याख्या गर्दै सर्वोच्चले नग्नता र अश्लीलताको व्याख्या सापेक्ष हुने भनेको छ ।
अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले २७ भदौ २०८१ मा रिट खारेज हुने फैसला सुनाएको थियो । सर्वोच्चको पूर्णपाठमा पशुपतिभित्र नागा बाबाहरूको उपस्थिति सनातन धर्म र हिन्दु धार्मिक संस्कृतिअनुकूल भएको व्याख्या गरिएको छ ।
‘नग्नता र अश्लीलता एकै होइनन् । नग्नता एउटा वस्त्रविहीन शारीरिक अवस्था हो। खासगरी स्तन र यौनांग आदि नछोपिएको अवस्थालाई नग्नताको रूपमा लिने गरिन्छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘तर अश्लीलता यौनिक उत्तेजना ल्याउने वा सामाजिक सांस्कृतिक दृष्टिले लाजमर्दो र आपत्तिजनक अभिव्यक्ति हो । नग्नताका सबै अवस्थालाई अश्लील मान्न सकिँदैन । अश्लीलताको निर्धारण अभिव्यक्तिको सन्दर्भ, त्यसमा निहित उद्देश्य, सामाजिक स्वीकार्यता तथा कानूनी व्यवस्था आदिका आधारमा गरिनुपर्ने हुन्छ ।’
कला/संस्कृति, शैक्षिक उद्देश्य, चिकित्सकीय वा उपचारको प्रयोजनका लागि वा अन्य स्वीकार्य सामाजिक मान्यताअनुरूप यौनांग देखाउनुलाई अश्लीलताको द्योतक मान्न नसकिने सर्वोच्चको व्याख्या छ । ‘प्राचीन मन्दिरका टुँडालहरूमा कुँदिएका देवदेवीका श्रृङ्गार रसयुक्त कलात्मक चित्र वा सङ्ग्रहालयमा राखिएको नाङ्गो चित्र वा मूर्ति आदिलाई अश्लील मान्न सकिँदैन,’ फैसलामा भनिएको छ ‘अश्लील मानिनका लागि सामान्यतः सामाजिक रूपमा स्वीकार्य मान्यताविपरीत, अशोभनीय र यौनिक दृष्टिले दिग्भ्रमित बनाउने उद्देश्यले गरिएको अभिव्यक्ति वा क्रियाकलाप हुनुपर्ने हुन्छ ।’
सर्वोच्चले धर्मशास्त्र र धार्मिक अभ्यासलाई समेत आधार बनाएर फैसला गरेको छ । पाण्डुरंग वामन काणेको पुस्तक ‘धर्मशास्त्र का इतिहास‘मा नागा साधुहरूको अभ्यासलाई वैदिक परम्परा भनी उल्लेख गरेको सर्वोच्चको फैसलामा उल्लेख छ । काणेको यो पुस्तक ५ भाग रहेको छ । साथै नागा बाबाहरूको गतिविधिलाई धार्मिक अभ्यासको अभिव्यक्तिका रूपमा लिनुपर्ने पनि सर्वोच्चको फैसलामा भनिएको छ । ‘नागा साधुहरू निर्वस्त्र रहनुलाई उनीहरूको धार्मिक आस्था र परम्पराको अभिन्न अंगका रूपमा रहेको र शरीरमा खरानी लेपन गर्ने, निर्वस्त्र रहने तथा शिवालय आदि विभिन्न धार्मिक स्थलहरूमा विशेष अवसरहरूमा निर्वस्त्र देखा पर्नुलाई उनीहरूको पहिचान र धार्मिक अभ्यासको अभिव्यक्तिका रूपमा लिनुपर्ने देखियो,’ फैसलामा भनिएको छ ।
पशुपतिनाथ मन्दिर परिसरमा नागा साधुहरू नांगै बस्नु अश्लीलताको प्रदर्शन नभएको पनि सर्वोच्चको फैसलामा भनिएको छ । ‘निजहरू नांगै बस्नुको उद्देश्य दर्शनार्थी भक्तजनहरूको कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा निजहरूको सोचलाई भ्रष्ट र चरित्रहीन गराउने उद्देश्यले नभई सनातन अभ्यास र परम्पराअनुसार भगवान् पशुपतिनाथप्रतिको भक्ति, समर्पण र साधनाका रूपमा नांगै बसेको भन्ने देखिन आउँछ,’ फैसलामा भनिएको छ ।
साथै नागा बाबाहरूको गतिविधिबाट भक्तजनहरू यौनिक रूपमा दिग्भ्रमित वा चरित्रहीन बन्न पुग्ने वा सोबाट महिला बालबालिका आदि भक्तजनहरूमा यौनहिंसा हुन जाने भन्ने निवेदकको दाबी स्वाभाविक र तर्कसंगत नदेखिएको पनि सर्वोच्चको व्याख्यामा भनिएको छ । ‘साथै नागा साधुहरूको यस किसिमको अभ्यास र व्यवहार सनातनदेखि चलिआएको र यसलाई धार्मिक, सामाजिक र नैतिक मूल्यका दृष्टिले समेत स्वीकार्य नै मानिएको हुँदा नागा साधुहरूले धार्मिक स्थलमा सार्वजनिक, नैतिकता र शिष्टाचारविपरीत अश्लीलता प्रदर्शन गरेको भनी मान्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ ।
शिवरात्रीको अवसरमा पशुपतिक्षेत्रमा नागा बाबाको चर्तिकला प्रदर्शन रोक लगाउन माग गर्दै २८ माघ २०७४ मा रिट दायर भएको थियो । न्यौपानेले शिवरात्रीमा पशुपति क्षेत्र लगायतका शिवालयमा नागाबाबाको ‘चर्तिकला’ले महिला बालबालिकामाथि यौनहिंसा गरी मनोवैज्ञानिक प्रभाव पर्ने हुँदा यस्ता क्रियाकलापमा रोक लगाउन माग गरेका थिए । तर सर्वोच्चले रिट खारेज हुने निर्णय सुनायो ।
शिवरात्रीमा भाङ, धतुरो, गाँजा चरेस जस्ता लागुपदार्थ सेवन गरेका खरानी दलेका नांगा मानिसहरूले अश्लीलता प्रदर्शन गर्ने गरेकाले उक्त गतिविधिमा रोक लगाउनुपर्ने न्यौपानेको माग थियो । धार्मिक पर्वका नाममा अश्लीलता प्रदर्शनका लागि नेपाली रकम खर्चेर सीमापारबाट नागाबाबा ल्याउने कार्य बन्द गराउन माग गरिएको थियो । तर सर्वोच्चले बन्द गर्ने भन्दा निश्चित क्षेत्र तोकेर उनीहरूलाई व्यवस्थित गर्न सकिने भनेको छ ।