गोरखा,८ भदौ : गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धान बालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीन वटा वडामा लगाइएको धान बालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी दिए।
पालुङटारको वडा नं ४, ६ र ८ मा गरी झण्डै चार सय १० रोपनी क्षेत्रमा लगाइएको धान बालीमा मरुवा रोग फैलिएको छ, सबैभन्दा धेरै वडा नं ८ स्थित एक हजार फाँटको द्वारटारमा समस्या देखिएको छ । रोगका कारण ती क्षेत्रमा धानका रोपो सुकिसकेको अधिकृत विष्टले जानकारी दिए ।
“किसानले ज्ञान केन्द्रमा जानकारी गराएपछि कृषि प्राविधिकसहितको टोली खेतमै पुगेर रोगको अध्ययन गरिसकेका छौँ, रोग फैलिएका क्षेत्रका धान बाली सुकिसकेको अवस्था छ”, उनले भने । मरुवा रोग धान बालीमा लाग्ने एक प्रकारको ढुसी कीरा हो । समयमा नै ढुसीनासक औषधिको प्रयोग गर्नसके रोग नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।
त्यस क्षेत्रमा विशेष गरी गोरखनाथ, सावित्री र मन्सुली जातको धान बालीमा मरुवा रोग देखिएको छ । सोही फाँटमा लगाइएको राम धानमा भने मरुवा रोगको प्रकोप नदेखिएको अधिकृत विष्टले बताए । पालुङटार नगरपालिका वडा नं ४ र ६ मा पनि धान बालीमा उक्त रोग देखिएको छ । त्यहाँ करिब १० रोपनी धान खेतमा मरुवा रोग देखिएको उनले जानकारी दिए ।
रोग लागेको क्षेत्रका किसानलाई ढुसीनासक औषधि उपलब्ध गराउनुका साथै ‘स्प्रे’ पनि गरिसकिएकाले ५० प्रतिशत धान बाली जोगाउन सकिने विश्वास गरिएको अधिकृत विष्टको भनाइ छ । “किसानले धानको बीउ खरिद गर्दादेखि नै विशेष ख्याल नपुर्याउँदा समस्या हुन्छ”, उनले भने, “धानको जातले पनि मरुवा रोग लाग्ने वा नलाग्ने हुनसक्छ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















