08/24/2025, 15:14:42

संसारका पर्यटकले घुम्ने ठाउँ ‘अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा’


लेखनाथ, भदौ ८ : पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । पोखरामा कति पर्यटक घुम्नका लागि आउने गरेका छन् भन्ने यकिन तथ्याङ्क कहीँकतै भेटिँदैन । यहाँ कुन देशका, कति पर्यटक आउँछन् भन्ने तथ्याङ्क राख्ने सरोकारवाला निकायले ध्यान दिन नसक्दा यस्तो अवस्था आएको हो । यद्यपि अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराले आफ्ना योजना निर्माण र स्थिति मूल्याङ्कनका लागि केही तथ्याङ्क राख्ने गरेको छ । सङ्ग्रहालयले राख्ने गरेको विवरण झैँ अरू निकायले पनि राख्ने गरेको भए यथार्थ विवरण आउने हुन्थ्यो ।

सङ्ग्रहालयका अनुसार साढे दुई दशकअघिसम्म घोडा, खच्चड राख्ने खर्क रहेको रातोपहिरोको सङ्ग्रहालयमा १०२ देशका पर्यटकले भ्रमण गरेको देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा नेपाली र विदेशी गरी एक लाख ६५ हजार पर्यटकले यसको भ्रमण गरेका छन् । सङ्ग्रहालयले गत वर्षदेखि टिकट काउन्टरमै सफ्टवेयरमार्फत पर्यटकको मुलुक अनुसारको तथ्याङ्क राख्ने गरेको छ ।

सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपाने यहाँ राखिएका तथ्याङ्कले भावी योजना निर्माण र अहिलेको अवस्थाको यथार्थ जानकारी दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आगन्तुकको देशको तथ्याङ्क राखेपछि योजना बनाउन सजिलो भएको छ । एक सयभन्दा बढी देशका पर्यटक आउने यो सङ्ग्रहालय नाम र काम दुवैले अन्तर्राष्ट्रिय बनेको छ ।” गत वर्ष टिकट बिक्रीबाट सङ्ग्रहालयले तीन करोड ४७ लाख ५६ हजार २६६ रुपियाँ आर्जन गरेको थियो । यो अवधिमा २२ हजार ९२८ विदेशी यहाँ आएका छन् ।

सङ्ग्रहालय नेपाली विद्यार्थीको पनि रोजाइमा परेको छ । एक वर्षको अवधिमा ६४ हजार पाँच ४६६ विद्यार्थीले सङ्ग्रहालय भ्रमण गरेका छन् । सङ्ग्रहालयमा सबैभन्दा बढी आउने विदेशीमा भारतीय छन् । १४ हजार ९९५ जना भारतीय नागरिकले सङ्ग्रहालय अवलोकन गरेका थिए । संयुक्त राज्य अमेरिकाका दुई हजार ३४१, फ्रान्सका दुई हजार ५७५, जापानका एक हजार ९३५, बेलायतका एक हजार २१ र बङ्गलादेशका दुई हजार १२ जना पर्यटक यहाँ घुम्न आएका छन् ।

गएको साउनमा चार हजार ९५ जनाले यसको अवलोकन गरेका छन् । २२ वर्षअघि सङ्ग्रहालय स्थापनादेखि यसका गतिविधिमा संलग्न पर्यटन व्यवसायी हरिध्वज तुलाचन तीन दशकअघि फालिएको झाडी किनेको सम्झनुहुन्छ । उहाँले विगत सम्झँदै भन्नुभयो, “यो ठाउँ घोडा, खच्चड राख्ने खर्क थियो । तिब्बती शरणार्थीले खेतीपातीका लागि किनेको १०६ रोपनी जग्गा उनीहरूबाट पुनः खरिद गरेपछि डा. हर्क गुरुङको जोडबलमा यहाँ सङ्ग्रहालय बनेको हो ।” अन्तर्राष्ट्रिय सङ्ग्रहालयमा नीति निर्माता र कार्यान्वयन गर्नेबिच अझै तालमेल मिल्न बाँकी रहेको उहाँको भनाइ छ । गण्डकी प्रदेश सरकारले यहाँ अन्तर्राष्ट्रियस्तरको बगैँचा बनाउने योजना अघि सारेको छ ।

– फडिन्द्र अधिकारी