11/17/2025, 19:35:18
सोमबार, मङि्सर ०१, २०८२
सामुदायिक कुकुर

यस्ता छन् कुकुर पाल्न चाहिने मापदण्ड

घरमा आयस्रोत कति छ ? कुकुरको दिसापिसाब कहाँ गराउँछ ? फोहोर व्यवस्थापन गर्ने ठाउँ छ कि छैन ? भ्याक्सिन दिएको छ कि छैन ? छाडा कुकुरलाई ट्याग लगाएर एक ठाउँमा व्यवस्थापन गर्नुपर्छ ।


काठमाडौं, भदौ ४ : काठमाडौं महानगरपालिकाका अनुसार महानगरभित्रका ९५ प्रतिशत सामुदायिक कुकुरलाई रोगबाट बचाउन भ्याक्सिन लगाइएको छ ।

महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले घरभित्र पालेका कुकुरको अभिलेखीकरणका लागि समेत स्थानीयमा अपिल जारी गरिएको जानकारी दिनुभयो ।

कुकुर÷बिरालो बन्ध्याकरण÷भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि, २०८० को अनुसूची (३) बमोजिम अभिलेखनका लागि अपिल जारी गरिएको थियो । महानगरले २०८१ चैतमा अभिलेखीकरणका लागि अपिल जारी गरे पनि सो कार्य भने सन्तोषजनक रुपमा अघि बढ्न सकेको छैन ।

उहाँले भन्नुभयो, “घरभित्र पालेका कुकुरलाई अभिलेखीकरणका लागि वडा कार्यालयमा दर्ता गर्नुस् भनेर अपिल जारी गरिएको छ । कसको कुकुर सडकमा छोडिएको हो भन्ने कुरा सम्बन्धित घरधनीसँग सूचना गर्न सजिलो होस् भनेर यसो गरिएको हो ।

उहाँले सामुदायिक कुकुर समाजकै उत्पादन भएको तथा उनीहरुको बाँच्ने हकको सवाल पनि अधिकारकर्मीले उठाउने गरेको भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “सामुदायिक कुकुर समाजकै उत्पादन हो । हामीले लखेटेर यताबाट उता गर्न पनि ठीक होइन । कुकुरको बाँच्ने हकको कुरा पनि कैयौं अधिकारकर्मीले गर्नुहुन्छ । यसकारण रोबाट बचाउन नियमित भ्याक्सिनेसन गर्ने गरेका छौं । हाम्रो अन्दाजमा करिब ९५ प्रतिशतलाई भ्याक्सिनेसन गरेका छौं ।

त्यस्ता कुकुर सन्तान नियन्त्रणका लागि बन्ध्याकरण बढाइएको तथा सडक दुर्घटनामा परेका कुकुरको उपचारका लागि मेडिकल सपोर्ट र सेल्टरको व्यवस्थापन गरिएको उहाँको भनाइ छ । उहाँले कतिपयले घरभित्र पालेका कुकुर बुढो भएपछि सडकमा छोडिदिने र उद्धारका लागि सहयोग माग्ने गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरभित्र पालेका कुकुरको अलि–अलि रौं झर्न लाग्यो, बुढो भयो भने सडक बाहिर, घरको गेट बाहिर पठाएर कहाँको कुकुर आएछ भन्दै टिपेर लैजानुस् भनेर हामीलाई फोन गर्ने पनि गर्नुहुन्छ । अनि यसरी त कति गर्न सकिएला र । त्यसैले घरमा पालेका कुकुरको अभिलेखीकरण गर्नुस् भनेर अनुरोध गरेका हौं ।

के गर्दैछ राजनीतिक दल ?

सहरी तथा ग्रामीण क्षेत्रमा पालिएका वा सडकमा छोडिएका कुकुरको व्यवस्थापनका सन्दर्भमा नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले ध्यानाकर्षण गराएको छ । विभागका प्रमुख कल्याण गुरुङका अनुसार खासगरी, यस्ता कुकुरको दिसा, पिसाबको व्यवस्थापन हुन नसक्दा मानिसको स्वास्थ्य, वातावरण र अन्य जीवलाई घातक प्रभाव परिरहेको छ ।

उहाँले भन्नुभयो, “मानिसहरु घरमा कुकुर पाल्नुहुन्छ । बाहिर सडकमा, चउर, मैदानमा दिसा गराउनुहुन्छ । मैदानमा केटाकेटी खेलिरहेका हुन्छन् । मानिसहरु पैदल हिंडिरहेका हुन्छन्, यसले गर्दा त्यो दिसा घर–घरमा पुग्छ ।

दिसाका कणहरु हावामा मिसेर उड्छ ।श्वासमार्फत मानिसको स्वास्थ्यमा असर गर्छ । बगेर पानीमा, नदीमा जान्छ, बारीका तरकारीमा पर्छ । नदीका माछालाई प्रभाव पर्छ । चराचुरुङ्गी, गाई वा अन्य जीवले खाने दाना प्रदूषित हुन्छ”, उहाँले भन्नुभयो, “अर्को कुरा बेवारिसे कुकुरबाट रेबिजको सम्भावना हुन्छ । उनीहरुको रौं झरेर खानामा समेत जान सक्छ । हावाबाट फोक्सोमा समेत जान्छ ।

उहाँले जलवायु परिवर्तन, मौसम, वनजङ्गल, वातावरण विज्ञान, जङ्गली जनावर, सिँचाइ, कृषिलगायतका विषयमा नेपाली कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले गत असार २ देखि साउन ६ गतेसम्म ३० दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले कुकुरको दिसापिसाब, खकार, रौंहरुले भयानक रोग निम्त्याउने भन्नुहुँदै यसको व्यवस्थापनमा स्थानीयदेखि सङ्घीय सरकार गम्भीरताका साथ लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरमा आयस्रोत कति छ ? कुकुरको दिसापिसाब कहाँ गराउँछ ? फोहोर व्यवस्थापन गर्ने ठाउँ छ कि छैन ? भ्याक्सिन दिएको छ कि छैन ? छाडा कुकुरलाई ट्याग लगाएर एक ठाउँमा व्यवस्थापन गर्नुपर्छ ।

स्थानीय सरकारले वडा तहमा प्रभावकारी कुकुर व्यवस्थापनका लागि प्रभावकारी कार्यविधि बनाएर लागू गर्नुपर्ने उहाँले जोड दिनुभएको छ । उहाँले राम्रोसँग कुकुर पालन तथा व्यवस्थापन गर्नेलाई पुरस्कृत गर्नुपर्ने तथा लापरवाही गर्नेलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।