जनकपुर, साउन ३० : प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान जनकपुरधाम आउँदै हुनुहुन्छ । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटनका लागि प्रधानमन्त्री ओली जनकपुरधाम आउन लाग्नुभएको हो । उहाँ ११ः३० बजे काठमाडौँबाट धनुषाका लागि प्रस्थान गर्नुहुने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपियाँको लागतमा बनेको यो सुविधा सम्पन्न भवनमा ६८ वटा कोठा रहेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जनाउनुभयो ।
विसं. २०८० असोज १० गते भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीले पाएको उहाँले जानकारी दिनुभयो । सम्झौता अवधि २०८२ असार मसान्तसम्मको थियो । सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको दाबी गरिएको छ ।