08/15/2025, 12:10:51

पदमार्गको अभाव हुँदा ओझेलमा ढोरपाटनको जल्पाताल


ढोरपाटन (बागलुङ), साउन ३० गते । चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएकोे निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलोकन गर्न जल्पातालमा पुग्ने मोहित हुन्छन् ।

बागलुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जल्पाताल निकै आकर्षक छ । समुद्री सतहबाट चार हजार ४०० मिटरको उचाइमा रहेको जल्पाताल सम्भावना भएर पनि गुमनाम छ । बर्खाका बेला जल्पाताल वरपरको पाटनमा भेडा चराउन गोठाला पुग्छन् । स्वर्गसरी पाटनहरूमा बर्खाको चार महिना बिताउँछन् । भेडी गोठाला पुगेको जल्पातालसम्म पर्यटक भने खासै पुग्न सकेका छैनन् ।

ताल बागलुङको ढोरपाटन नगरपालिका र रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने हुँदा दुई जिल्लाका गोठाला यहाँ बस्ने गरेका छन् । ढोरपाटन उपत्यकाबाट दुई दिनको पैदलयात्रामा जल्पाताल पुग्न सकिन्छ । तर अहिलेसम्म यस तालसम्म पुग्ने गतिलो पदमार्गको अभाव छ । छिटफुट पुग्ने पर्यटक अन्दाजकै भरमा जल्पातालसम्मको यात्रा गरेर फर्कन्छन् ।

ढोरपाटनको पाखाथरबाट गर्पाछेडा, फुर्से देउराली, फागुन हुँदै जल्पाताल पुग्न सकिन्छ । पर्यटकलाई तालको सुन्दरता र त्यस वरपरको प्रकृतिक दृश्यावलोकन गराउनका लागि प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो ।

जल्पातालमा अहिलेसम्म पर्यटक पुर्याउन नसकेको भन्दै राज्यले नै प्रचारप्रसार गर्नुपर्ने उहाँको तर्क छ । तालसम्म पुग्ने पदमार्ग बनाउन जरुरी रहेको उहाँको भनाइ छ । गोठालाको बासस्थानका रूपमा रहेको जल्पाताललाई पर्यटक उकाल्न पर्यटन बोर्डसँगै स्थानीय, प्रदेश र सङ्घ सरकारले पहल थाल्नुपर्ने उहाँको सुझाव छ ।

गत वर्षसम्म बुकीपाटन आझेलमा थियो । प्रचारप्रसार र त्यहाँसम्म पुग्ने पदमार्ग लगायतका संरचना बनेपछि अहिले दैनिक एक सय बढी पर्यटक टीकाधारा, गर्पाछेडा पुग्छन्”, उहाँ भन्नुहुन्छ, “अब जल्पातालको पनि प्रचारप्रसार गरी पूर्वाधार निर्माण गनुपर्नेछ । पर्यटकको आगमनलाई बढाउनुपर्ने देखिन्छ । हामी स्थानीयका तर्फबाट गर्नुपर्ने जिम्मेवारी हामी पूरा गर्छौँ । राज्यले पनि त्यही अनुसारको कदम चाल्नुपर्छ ।

जल्पातालसम्म पर्यटक उकाल्न पदमार्गको विकाससँगै सूचना बोर्डको अभाव छ । प्रवर्द्धन गर्न सक्ने हो भने कुमारी गन्तव्य भएकाले तालसम्म पुग्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने तनहुँबाट घुम्न पुग्नुभएका पत्रकार विनोद ढुङ्गाना बताउनुहुन्छ । “जल्पातालको दृश्यले देखेपछि लाग्छ स्वर्गको टुक्रा भनेको यहीँ होला”, उहाँले वर्णन गर्नुभयो ।

कोलाहलबाट परको नयाँ गन्तव्यमा पदयात्रा गर्न चाहने आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहेको उहाँको भनाइ छ । तर, त्यसका लागि व्यवस्थित पदमार्ग र सूचना बोर्ड राख्नुपर्ने उहाँले बताउनुभयो । “ताल निकै मनमोहक छ । वरपरको सुन्दरताले धेरैलाई लोभ्याउँछ । ताललाई पनि थोरै व्यवस्थित गर्नुपर्ने छ । ताललाई घेरेको तीन दिशाको पहाड भूक्षयीकरण भएकाले निकट भविष्यमा खुम्चिने सम्भावना पनि उत्तिकै देखिन्छ”, ढुङ्गानाले भन्नुभयो, “पूर्वाधारको विकास, प्रवर्द्धनसँगै संरक्षणको आवश्यकता । बुकीपाटनसँगै जल्पाताल पनि पर्यटक आकर्षणको गन्तव्य बन्नेमा शङ्का छैन ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ठाउँठाउँमा सूचना बोर्ड राख्ने र पदमार्ग निर्माण गर्ने बताउनुहुन्छ । ढोरपाटन उपत्यकाबाट धेरै टाढा रहेको हुँदा नगरपालिकाको स्रोतले मात्र नपुग्ने हुँदा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर पूर्वधार निर्माण गर्ने उहाँको भनाइ छ । जल्पातालसहित ढोरपाटनका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पर्यटन महोत्सव गर्ने योजना बनाएको कायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ताल अहिलेसम्म ओझेलमा छ, फाट्टफुट्ट ढोरपाटन वरपरका पर्यटकहरू कहिलकाहीँ पुग्ने गरे पनि अरु ठाउँबाट खासै आउन सकेका छैनन् । आउन् पनि कसरी प्रचार नै छैन । हामीहरूले अब जल्पातालसँग बुकीपाटन क्षेत्रको पनि प्रवर्द्धन गर्नेगरी योजना बनाएका छौँ । यो वर्ष पर्यटकका लागि सूचना बोर्ड र केही ठाउँमा पदमार्ग बनाउँछौँ । अधूरा कामका लागि माथिल्लो निकायसँग सहकार्य गर्नेछौँ ।