काठमाडौँ, साउन २९ : एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक हप्तामा १८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
योसँगै गत पुसदेखि हालसम्म ७४ जिल्लाबाट डेंगु पुष्टि हुनेको सङ्ख्या दुई हजार ९५२ पुगेको छ । डा. दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ। गण्डकी प्रदेशमा ८७७ जनामा डेङ्गु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा ६१२, कोशीमा ५१८, लुम्बिनीमा ४६५, सुदूरपश्चिममा ३५०, कर्णालीमा ७७ र मधेशमा ५३ जनामा डेङ्गु पुष्टि भएको डा. दाहालले जानकारी दिनुभयो ।
चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्दछ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।
त्यो बाहेक उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।