सिद्धार्थनगर, साउन २८ : धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ बुद्ध मावली रुपन्देहीको देवदहमा ‘बाल गोपाल शिश महल’ निर्माण गरिएको छ । देवदह नगरपालिकाको पाँच लाख र स्थानीयको ७० लाख गरी कूल ७५ लाख रुपिँया लागतमा शिश महल निर्माण गरिएको हो ।
वि.सं २०२८ सालमा स्थानपना भएको दुर्गा मन्दिर संरक्षण समिति देवदह–७ ले धार्मिक धरोहरहरुको विकास र धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले शिशमहल निर्माण गरेको जनाएको छ ।
मन्दिरका अध्यक्ष सीपी बस्यालले भगवान कृष्णको बच्चाको नाम बालगोपालकै नामबाट शिश महल निर्माण गरिएको बताउनुभयो । शिस महलसँगै परिषर भित्र देवदह मणिदीप धाम निर्माणको परिकल्पना गरिएको उहाँले जानकारी दिनुभयो । “मणिदीप धाम निर्माणको परिकल्पनाअन्तर्गत नै हामिले बालगोपाल शिश महल निर्माण गरेका हौं ।” उहाँले भन्नुभयो, “यसले देवदह क्षेत्रको धार्मिक पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ ।”
देवदह क्षेत्रको पर्यटन विकाससँगै यस क्षेत्रमा धार्मिक पूर्वाधारको विकास, स्थानीय भक्तजनहरुलाई धार्मिक कृयाकलापमा अग्रसर गराउन, देवदहलाई साँस्कृतिक नगरको रुपमा विकास गर्नुपर्ने अध्यक्ष बस्यालले बताउनुभयो । त्यसका लागि देवदह नगरपालिकाले धार्मिक पर्यटनको गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने उहाको भनाइ छ ।
देवदहलाई बुद्धमाता मायादेवी, सानीआमा प्रजापति गौतमी र जीवन संगिनी यशोधराको जन्म स्थलका रुपमा परिचित गराउँदै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई देवदहमा रात बिताउने विश्रामस्थालका लागि पूर्वाधार निर्माण गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।
नवनिर्मित बालगोपाल शिश महलभित्र कृष्णको बाल लिला, बाल गोपीनी लिला, कालिनाग मर्दन र कृष्ण विराट स्वरुप लगायतका कलाहरुलाई सुन्दरताका साथ प्रस्तुत गरिएको छ । शिश महलमा कला भर्नका लागि भारतको दिल्लीबाट तीन जना कालिगढ झिकाएर दुई महिनासम्म निरन्तर काम गरेको मन्दिरका कोषाध्यक्ष दिनानाथ सापकोटाले जानकारी दिनुभयो । शिश महल लुम्बिनी प्रदेशमै पहिलो पटक देवदहमा निर्माण भएको समितिको दावी छ । करिव दुई हजार वर्गफिटमा सिसाका स–साना टुक्रा जोडेर कालिगडले शिश महलमा कला भरेको कोषाध्यक्ष सापकोटाले बताउनुभयो ।
विस २०८१ भदौ १० गते शिलान्यास भएको शिश महल एक वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो । जसलाई यही साउन ३१ गते शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर उद्घाटन गर्ने समितिले तयारी गरेको छ । शिश महलको ‘श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराज’ले उद्घाटन गर्ने समितिले जनाएको छ ।
शिश महलसँगै मन्दिर परिषरमा अर्जुनरथ, बुद्धविहार, वाटर फाउण्डेसन, रमणीय धार्मिक पार्क, विश्राम स्थल, आकर्षक प्रवेशद्वार लगायतका संरचनाहरु निर्माण गरिएको छ । निर्माणका लागि मन्दिरको आन्तरिक आम्दानीसँगै दान दक्षिणा, स्थानीय चन्दादाता र सहयोगीहरुबाट सङ्कलित रकम तथा देवदह नगरपालिका लगायत निकायबाट रकम प्राप्त भएको अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।
उद्घाटनको दिन निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको र भदौ १ गतेबाट सर्वसाधारणका लागि प्रतिव्यक्ति ५० रुपियाँ र विद्यार्थीका लागि ३० रुपियाँ टिकटदर कायम गरिएको छ । यसैगरी, समूहगत रुपमा अवलोकन गर्न आउनेहरुका लागि ३० जनाको सङ्ख्यामा आएमा प्रतिव्यक्ति ३० रुपियाँ कायम गरिएको छ ।