म्याग्दी, साउन २६ : बेनी नगरपालिका-५ मा रहेको धार्मिक पर्यटकीय स्थल पुलहाश्रमबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि, माछापुच्छ्रे हिमश्रृङ्खलाको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ ।
पुलहाश्रम पौराणिक स्थल हो । यो स्थानलाई पुलस्त्य र पुलह ऋषिको तपोभूमि मानिन्छ । पुलहाश्रम सदरमुकाम बेनीदेखि पश्चिम–उत्तरमा समुन्द्री सतहबाट १ हजार ५ सय ३० मिटरको उचाइमा छ । यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको श्रीमद्भागवत् महापुराणको पञ्चमस्कन्ध आठौं अध्यायमा उल्लेख गरिएको छ ।
बेनी बजारबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे, बाँसबोट, एकपाटे हुँदै पुरुण्डीसम्मको सडक कालोपत्रे भएको छ । पुरुण्डीबाट करिब दुई किलोमिटर कच्ची सडकको यात्रापछि यहाँ पुग्न सकिन्छ ।
यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले बेनी नगरपालिकाले पुलहाश्रम नजिक रावण पार्क निर्माण गरेको छ । गलेश्वरधामदेखि नजिक रहेको पुलस्त्य पुलह क्षेत्रमा भारतीय हिन्दु पर्यटकलाई आकर्षित गर्न सकेमा यहाँ बर्षेनि हजारौं पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले भविष्यमा पुलस्त्य र पुलह ऋषिको मूर्ति सहित ऋषि पार्क निर्माण गर्ने योजना रहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।
ऐतिहासिक तथा धार्मिक महत्त्वको पुलस्त्य पुलह क्षेत्रमा सहज रूपमा आवतजावतका लागि सडक विस्तार तथा स्तरोन्नति लगायत पूर्वाधार विकासमा नगरपालिकाले जोड दिएको नगर प्रमुख केसीले बताउनुभयो ।
पुलस्त्य पुलह क्षेत्रको विकास र समृद्धिका लागि पुलस्त्य पुलह क्षेत्र विकास कोषले करिब ३० करोड रुपियाँ बराबरको लागत अनुमान गरिएको डिपिआर बनाएर पूर्वाधार निर्माणका लागि बेनी नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको कोषका अध्यक्ष लीला बानियाँले बताउनुभयो ।