08/07/2025, 12:21:36

पर्यटकका लागि सहज गन्तव्य बन्दै भोजपुरको ‘चखेवा भञ्ज्याङ’


२२ साउन, भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज गन्तव्य बनेको छ । प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा सडकलगायतका पूर्वाधार विकास भएपछि पर्यटकका लागि सहजको गन्तव्य बनेको हो ।

कालोपत्र सडकको पहुँच रहेको यो स्थल भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटरको दूरीमा अवस्थित छ । स्थानीय परिकारहरुको स्वाद लिँदै प्राकृतिको आनन्द लिनका लागि मानिस यहाँ पुग्ने गरेका छन् । चखेवा भञ्ज्याङ समुन्द्री सहतबाट दुई हजार ३५१ मिटर उचाइमा रहेको छ ।

चखेवालाई पर्यटन संस्कार, संस्कृति र सभ्यताको क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मध्य पहाडी लोकमार्गसँगै मुन्दुम पदमार्गको केन्द्र विन्दुका रुपमा रहेकाले यो क्षेत्रको सहरीकरणसँगै बस्ती विस्तारमा जोड दिइएको उहाँको भनाइ छ ।

चखेवा हाम्रो गाउँपालिकाको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो”,  उहाँले भन्नुभयो, “यो ठाउँलाई पयर्टनसँग जोडेर संस्कार, संस्कृति र सभ्यताको क्षेत्रका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ । हामी चखेवा क्षेत्रलाई पूर्वको एक स्थापित पर्यटकीय गन्तव्य बनाउन जुटेका छौँ ।

भोजपुर र खोटाङको सिमानामा रहेको यो स्थानमा बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क तथा संस्कृति अध्ययन केन्द्र निर्माण गरिने अध्यक्ष बस्नेतले बताउनुभयो । केन्द्र सरकारको करिब रु तीन करोड लागतमा सङ्ग्रहालय निर्माणका लागि जग्गा खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो क्षेत्र प्राकृतिक हिसाबले आफैँमा सुन्दर छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “हामीले यहाँको संस्कार संस्कृतिको विकासमा पनि जोड दिएका छौँ । पर्यटकहरुको सहज आवागमनमा हामीले ध्यान दिएका छौँ ।

चखेवासँगै मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धनका लागि विभिन्न समयमा मेला महोत्सवसमेत सञ्चालन भइरहेको उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । स्थानीयलाई आर्थिक उपार्जनमा जोड्न गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको उहाँको भनाइ छ । गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधारः टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको जनाएको छ ।